देशकाे नेतृत्वमा प्रचण्डको विकल्प छैन भन्नेकुरा जनताले बुझे– सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले उनले कांग्रेस प्रजातान्त्रिक सामन्तहरुको पार्टी भएको आरोप लगाएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै
उनले भने, ‘अहिले कांग्रेसलाई पनि नजर भरी हेरिरहेका छन् । एमालेलाई पनि हेरिरहेका छन् । अझ काँग्रेस त त्यस्तै पार्टी हो । हामीले जानेकै पार्टी हो । त्यो प्रजातान्त्रिक सामन्तहरुको पार्टीमा मान्छेलाई धेरै आशा थिएन ।’
तर एमालेको कामले आफ्नै कार्यकर्ताहरु पनि शीर निहुराएर लज्जाबोध गर्ने गरेको पनि सापकोटाले बताए । उनले भने, ‘एमालेका कार्यकर्ताहरुको हामी जहाँ जहाँ पुग्यौं, त्यहीँ त्यहीँ शीर निहुरिएको छ । उनीहरु असाध्यै लाजस्पद छन् ।’
उनले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको बताएका छन् । देश बनाउनका लागि आफूहरुले अध्यक्ष दाहालको विकल्प नरहेको कुरा पहिला नै बुझेको तर अहिले आएर जनताले पनि बुझेको उनले दाबी गरे ।
माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको उनको भनाइ थियो ।
उनले अहिले जनता कांग्रेस र एमालेबाट अघाएको बताउँदै माओवादीलाई बाटो खाली गरिदिएको जिकिर गरे ।
उनले भने, ‘काँग्रेस, एमालेबाट निर्वाचित भएकाहरुले पनि बाटोमा जुनजुन पालिकाहरु परे तिनीहरुले हामीलाई भित्रि हृदयदेखि नै भविष्यको नेतृत्व माओवादीले गर्नुपर्छ, त्यसमा पनि पार्टी अध्यक्ष कमरेड प्रचण्डको विकल्प छैन भन्नेकुरा हामीले त बुझेको कुरा हो । जनताले पनि त्यो बुझे ।’
प्रतिकृया दिनुहोस