• २०८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025

चीनले आफ्ना नागरिकलाई भन्योः ‘चाँडो इजरायल छोड्नु, अमेरिका भन्छ तेहरान खाली गर्नु’

एजेन्सी । इजरायलस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इजरायल छोड्न आग्रह गरेको छ।

इजरायली हवाई क्षेत्र बन्द भएकाले सुरक्षा सुनिश्चित गर्दै चिनियाँ दूतावासले आफ्ना नागरिकहरूलाई भूमि सीमा नाकाबाट इजरायल छोड्न अपील गरेको छ।

सोमबार जारी गरिएको सूचनामा चिनियाँ दूतावासले चीनका जनतालाई जोर्डन हुँदै देश छोड्न अपील गरेको छ।

इजरायल-इरान द्वन्द्व बढ्दै गएको, नागरिक सुविधाहरूमा क्षति पुर्‍याउने र नागरिक हताहतको संख्या बढ्दै गएको उल्लेख गरिएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार दूतावासले सम्बन्धित इजरायली सरकारी विभागहरूले जोर्डन र इजिप्टसँगको इजरायलको सिमाना खुला रहने पुष्टि गरेका छन्। 

उता अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले भने इरानकाे राजधानी तेहरान खाली गराउन भनेका छन् ।

उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले जुन सम्झौताको कुरा गरेको थिए, त्यसमा इरानले हस्ताक्षर गर्नुपर्छ । तर इरानले मानेको छैन, यो निकै लज्जास्पद र मानव जीवनको बर्बादी हो ।’

आफूले बारम्बार इरानसँग परमाणु हतियार हुन नहुने बताइरहेको र अब सबैले तेहरानलाई तत्काल खाली गर्नुपर्ने ट्रम्पले चेतावनी दिएका छन् ।

ट्रम्प जी सेभेन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन क्यानडा गएका थिए । तर उनी तत्कालै फर्किँदैछन् । मध्यपूर्वमा देखिएको अवस्थाका कारण आफू फर्किएको उनको भनाइ छ ।

यस्तै न्युयोर्क टाइम्सका अनुसार ट्रम्पले इरानको फोर्डो परमाणु साइटमा आक्रमण गर्ने कि नगर्ने भन्ने विषयमा विचार गरिरहेका छन् ।

यो क्षेत्र जमिनको निकै तल सतहमा रहेको छ । यसलाई नष्ट गर्ने क्षमता केवल अमेरिकासँग मात्र छ । म्यासिभ अर्डनेन्स पेनेट्रेटरबाट मात्र यस्तो क्षेत्रमा आक्रमण गर्न सकिन्छ । यो बमलाई बी–२ बमवर्षकबाट खसालिन्छ ।

रिपोर्टअनुसार यदि अमेरिकाले यस क्षेत्रमा आक्रमण गरेमा सिधै इरानसँग अमेरिकाको पनि युद्ध मानिनेछ ।

यसैबिच इरानले मंगलबार नयाँ तरिका अपनाएर इजरायलमा सफल हमला गरेको दाबी गरेको छ।

सोमबार बिहान उज्यालो हुनुअघि इरानी मिसाइलले इसराइलको प्रमुख सहर तेल–अभिभ र बन्दरगाह सहर हाइफामा केही घरहरू ध्वस्त पारे। ती आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको इजरायलले पुष्टि गरेको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले (आइआरजिसी) सो हमलाका लागि नयाँ तरिका अपनाएको दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। इरानले इजरायलको विभिन्न तहको एयर–डिफेन्स सिस्टमलाई एकअर्कामाथि प्रहार गर्न लगाएर, नयाँ तरिकामा सफलतापूर्वक प्रहार गरेको आइआरजिसीले दाबी गरेको छ।

इजरायली एयर–डिफेन्स सिस्टमलाई कसरी झुक्क्याएको भनेर विस्तृत जानकारी इरानले दिएको छैन। युद्ध चलेको बेलामा इजरायल एयर–डिफेन्स सिस्टमलाई यसरी झुक्क्याएको भनेर इरानले खुलासा गर्ने कुरा पनि हुँदैन। इरानको यो दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

इजरायलले यसबारे अहिलेसम्म केही टिप्पणी गरेको छैन। उसले आफ्नो एयर–डिफेन्स सिस्टम शतप्रतिशत प्रभावकारी भएको कहिल्यै दाबी गर्दैन। सोमबार पनि झन्डै सय वटा इरानी मिसाइलमध्ये सात वटाले इजरायल भूमिमा क्षति पुर्‍याएको दाबी गर्‍यो।

इजरायलले इरानको आणविक हतियार कार्यक्रम रोक्न इरानमाथि बिहीबार भीषण आक्रमण गरेको थियो।इजरायलले स्वीकार नगरे पनि ऊसँग आणविक हतियार भएको मानिन्छ।

बिहीबारको हमलापछि दुवै देशले एकअर्कामाथि लगातार प्रहार गरिरहेका छन्।

अमेरिकामा बनेका अत्याधुनिक फाइटर–जेटहरू प्रयोग गरेर इसराइलले अहिले इरानको आकाशमाथि कब्जा जमाएको छ।

गत अक्टोबरको आक्रमणमा इजरायलले इरानका एयर–डिफेन्स सिस्टम ध्वस्त पारेको दाबी गरेको थियो। मिसाइल कारखानामा पनि प्रहार गरेको थियो।

बिहीबारको आक्रमणमा पनि इजरायलले सुरूमा इरानको एयर–डिफेन्स सिस्टममा प्रहार गरेको थियो। त्यसैले अहिले इजरायलले इरानभित्र बिना रोकटोक जहाँ चाह्यो, त्यहाँ प्रहार गरिरहेको छ। इरानले गरेको प्रहार भने इजरायली एयर–डिफेन्स सिस्टमले रोक्छ। अमेरिकाले पनि केही हदसम्म इरानी मिसाइल रोक्न सहयोग गरिरहेको मानिन्छ।

इजरायलले यसपालि सुरूमै इरानी मिसाइल भण्डार, कारखाना र मिसाइल प्रहार गर्ने 'लन्चर' हरूलाई निशाना लगाएको थियो। त्यसैले इरानले पहिलेजस्तो एकै पटक इजरायली एयर–डिफेन्स सिस्टम धराशायी पार्ने गरी ठूलो संख्यामा मिसाइल प्रहार गर्न नसक्ने मानिन्छ।

बाँकी रहेका मिसाइल इरानले किफायती र होसियारीका साथ प्रयोग गर्नुपर्छ। प्रयोग गरे पनि, इजरायलसँग अत्याधुनिक प्रविधि भएकाले उसले मिसाइल कहाँ राखिएको छ र कहाँबाट प्रहार भएको भनेर पत्ता लगाएर इरानभित्रै गएर तिनलाई नष्ट पार्ने खतरा पनि हुन्छ।

इरानले इजरायली प्रहारबाट जोगिन आफ्नो एयर–डिफेन्स सिस्टम र वायु सेनामा लगानी गर्नुको साटो 'एक्सिस अफ रेसिस्टेन्स' चलाउन धेरै खर्च गरेको थियो। इरानमाथि आक्रमण गरे हिजबुल्लाह, हमास र सिरियाले एकैचोटि आफूमाथि प्रहार गर्ने डर इजरायललाई थियो।

इरानको सो नीतिले यतिन्जेलसम्म काम गरेको थियो। इजरायलबाट हुने आक्रमणबाट जोगाउने मात्रै नभएर सो नीति अपनाएर इरानले छिमेकमा व्यापक प्रभाव विस्तार समेत गरेको थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर