एमाले कार्यकर्तामा पार्टीप्रति उत्साहको कमी देखिन्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमालेप्रति पार्टी कार्यकर्तामा उत्साह नदेखिएकाे स्वीकार गरेका छन् । पार्टीभित्र देखिएका सबै समस्याहरू समाधानयोग्य रहेको उनले दावी गरे।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको दाबी गरे । पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनै पनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्न सक्ने क्षमता आफूहरूमा रहेको दोहोर्‍याए ।

उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको बताए।

उनले भने, ‘आज नेकपा एमालेमा हाम्रो काबुभन्दा बाहिर, हामीले समाधान गर्न नसक्ने कुनै समस्या छ जस्तो लाग्दैन। समस्याहरू छन्, तर ती सबै हाम्रो काबुभित्र छन्, समाधान गर्न सक्ने तहभित्रै छन्। अहिलेको पार्टीको नेतृत्वले पार्टीमा देखिएका कुनै पनि समस्याको समाधान गर्न सक्छ। र पार्टीको एकता सुरक्षित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्न सक्छ भन्ने कुरामा हाम्रा सबै नेता–कार्यकर्ताहरूले विश्वास गर्नुपर्छ। र त्यो सामर्थ्य हामीसँग छ भन्ने विश्वास पनि छ। अहिले हाम्रो पङ्क्तिमा अलिकति त्यो गति, उत्साह, ऊर्जा कम देखिएको छ। एक समय थियो, जति बेला पार्टीले आह्वान गर्ने बित्तिकै हजारौँ–लाखौँ मान्छे सडकमा उत्रिन्थे। अहिले थोरै मान्छे जुटाउन पनि निकै मेहनत गर्नुपर्ने स्थिति सिर्जना भएको छ, किन? अहिले पार्टी र पार्टी कार्यकर्तामा किन शिथिलताको स्थिति बन्यो भन्ने कुरा अलिकति छलफल र चिन्ताको विषय हो।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर