इरानको महत्वपूर्ण न्युक्लियर सेन्टरमा इजरायली आक्रमण, बेलायत र अष्ट्रेलियाले के भने ?

एजेन्सी । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का अनुसार इजरायली आक्रमणमा इरानको खोन्डब हेभी वाटर रिसर्च सेन्टरका कैयौं संरचना क्षतिग्रस्त बनेका छन् ।
यसमा डिस्टिलेशनको काम हुने युनिटको संरचना पनि ध्वस्त भएको बताइएको छ । एजेन्सीले एक्समा एक पोस्ट गर्दै यसको जानकारी गराएको हो ।
यस्तै एजेन्सीले आफ्नो संस्था इरानको परमाणु गतिविधिमा गरिएको टिप्पणीमा इजरायल आक्रमणसँग कुनै सम्बन्ध नभएको बताएको छ । एजेन्सीका प्रमुख राफेल ग्रसीले सीएनएनसँग अन्तर्वार्ताका क्रममा आफूहरुको रिपोर्ट कसैको सैन्य कारबाहीको आधार बन्न नसक्ने बताएका छन् ।
इरानले आईएईएको रिपोर्ट र उसको टिप्पणीका कारण इजरायललाई आक्रमणका लागि आधार तया गरेको आरोप लगाएको थियो । तर ग्रसीले यसलाई अस्वीकार गरिदिएका छन् ।
उनले भने, ‘रिपोर्टमा जुन कुरा भनिएको थियो, त्यो नयाँ थिएन । आईएईएले पहिलेदेखि नै चेतावनी दिँदै आएको थियो, इरान आफ्नो परमाणुसँग जोडिएका गतिविधि साझा गरिरहेको छैन भने ।’
यो युद्धमा इजरायलले अमेरिकामा निर्मित एफ सेरिजका लडाकु विमान र त्यसबाट मार हान्न सक्ने क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । यस्तै इरानले ब्यालेस्टिक र क्रुज मिसाइलसहित ड्रोन हमला गरेको छ । दुवै मुलुकले ती क्षेप्यास्त्र हमलाबाट बच्नका लागि प्रतिरक्षा प्रणाली पनि बनाएका छन् । जहाँ जमिनमा क्षेप्यास्त्र खस्नुअघि नै आकाशमै प्रतिरक्षा प्रणालीमा जडित मिसाइल नष्ट गरिदिन्छ । इजरायलको ‘आइरन डोम प्रतिरक्षा प्रणाली’ कै कारण कम मात्रामा इरानी मिसाइलहरू इजरायली भूमिका खसेका छन् ।
ब्यालेस्टिक मिसाइल १२ मिनेटभित्रमा, क्रुज मिसाइल दुई घन्टा, ड्रोनहरू घन्टौं लगाएर पुग्छन् । भूगोल र सैनिकको संख्या हिसाबले इरान इजरायलभन्दा ठूलो देखिन्छ । प्रविधिले सुसज्जित इजरायलले इरानी आकाशमा आफ्नो दबदबा बनाएको छ । यो युद्धमा धेरै क्षति इरानलाई भएको छ । संरचना र सर्वसाधारणको क्षति बढी इरानलाई भएको छ ।
पछिल्लो युद्धको सुरूवात इरानका आणविक कार्यक्रमसँग जोडिएको छ । इरानको आणविक कार्यक्रमले खतरा उत्पन्न गराएको भन्दै इजरायलले इरानका केही आणविक भट्टी केन्द्र र परमाणु वैज्ञानिकहरूलाई लक्षित गरेर आक्रमण गरेपछि दुवै युद्धमा होमिएका हुन् ।
इरानका युरेनियम प्रशोधन केन्द्रहरू ध्वस्त पारेर मात्रै आफ्नो मुलुक सुरक्षित रहने इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इरानले आणविक सम्झौता उल्लंघन गर्दै प्रशोधित युरेनियमको मात्रा ६६ प्रतिशत पुर्याएको सार्वजनिक भएपछि इजरायलले आक्रमण थालेको देखिन्छ ।
पछिल्ला दिनहरूमा भने इरानको फोर्दोमा रहेको युरेनियम प्रशोधन केन्द्रलाई ध्वस्त बनाएमात्रै युद्ध रोकिने इजरायलले बताउँदै आएको छ । यो युरेनियम प्रशोधन केन्द्र पहाडी इलाकाभित्र निर्मित एक भूमिगत आणविक केन्द्र हो । यो जमिनदेखि करिब ९१ मिटरभित्र गहिराइमा निर्माण गरिएको छ । यो केन्द्रलाई इरान र रुसी प्रतिरक्षा प्रणालीले सुरक्षा दिएका छन् ।
यसैबीच अष्ट्रेलियाले तेहरानस्थित आफ्नो दूतावास बन्द गरेको र त्यहाँ रहेका कर्मचारी तथा उनीहरूको परिवारलाई सुरक्षित रूपमा बाहिर निकालिएको अष्ट्रेलियाको विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ। मन्त्रालयका अनुसार यो कदम "सुरक्षाको अवस्था बिग्रँदै गएको" कारण चालिएको हो। मन्त्रालयले अझै इरानमा रहेका अष्ट्रेलियाली नागरिकहरूलाई चाँडोभन्दा चाँडो इरान छोड्न आग्रह गरेको छ।
अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी भएको जनाउँदै, इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न र शान्तिको लागि मिलेर काम गर्ने सहमति भएको बताइन्।
"अगामी दुई हप्ताको अवधिमा तनाव कम गर्ने, संवाद गर्ने र कूटनीतिक उपाय अपनाउने अवसर छ," वोंगले शुक्रबार एडिलेडबाट भनिन्।
उता ब्रिटिश विदेशमन्त्री डेभिड लाम्मीले अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रपति दूत स्टिभ विटकोफसँग बिहीबार व्हाइट हाउसमा भेट गरेपछि “मध्यपूर्वको अवस्था अझै खतरापूर्ण छ” भन्ने टिप्पणी गरे।
“हामी दृढ छौं कि इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नपाओस्,” लाम्मीले एक्स (पूर्व ट्विटर) मा लेखे।
“हामीले कसरी एउटा सम्झौता गरेर द्वन्द्वलाई अझ चर्कन नदिने भन्ने विषयमा छलफल गर्यौं। आगामी दुई हप्ताभित्र कूटनीतिक समाधानको लागि एउटा अवसर खुलेको छ,” उनले थपे।
प्रतिकृया दिनुहोस