सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय, सरकार अल्पमतमा !

काठमाडौं । सरकारका अधिकाँश कदममा यस अघि नै असहमति र विरोध गर्दै आएको सत्तारुढ दल जसपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे। कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।
अध्यक्ष यादवले संसदीय दलको बैठक बसेर केही दिन भित्रै निर्णय लिइने बताए।
जसपा नेपालका वरिष्ठ नेता राजकिशोर यादवले छिट्टै संसदीय दलको औपचारिक बैठक बसेर समर्थन फिर्ताको निर्णय लिने बताए।
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्नेछ। ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारमा सहभागी दलहरूको २७ जना मात्र सांसद छन्।
राष्ट्रिय सभामा नेपाली कांग्रेस(१६), नेकपा एमाले(१०) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(१) जना सांसद छन्।
सरकारमा सहभागी नभए पनि समर्थन गरिरहेको जसपा नेपालका ३ सांसद छन्। जसपा नेपालको समर्थन फिर्तापछि सरकार राष्ट्रिय सभामा अल्पमतमा पर्ने देखिएको छ।
राष्ट्रिय सभाको सबभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र विपक्षमा छ। उक्त दलका १७ सांसद छन्। नेकपा एकीकृत समाजवादी पार्टीका ८ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षमा छन्। यसरी विपक्षमा हाल २६ सांसद छन्।
राष्ट्रिय सभामा ३ जना मनोनीत सांसद हुन्छन्। मनोनीत मध्येका नारायणप्रसाद दाहाल राष्ट्रिय सभाका अध्यक्ष छन्। उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय सभामा पुगेका हुन्। अञ्जान शाक्य नेकपा एमालेको कोटामा राष्ट्रिय सभा पुगेकी हुन्।
प्रतिकृया दिनुहोस