यसअघि टिकट नै नपाएका भट्टराईलाई रुपन्देहीको उपचुनावमा उठाउने एमालेको तयारी

काठमाडौं । यस अघिकाे चुनावमा टिकट नपाएका उम्मेदवारलाइ नै नेकपा (एमाले)ले प्रतिनिधि सभा अन्तर्गत रूपन्देही-३ को उपनिर्वाचनमा उम्मेदवार बनाउने तयारी गरेकाे छ ।
एमालेले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
सोमबार बालुवाटार भट्टराईले त्यसबारेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेका छन्। एमालेकाे अब बस्ने बैठकले यसबारे निर्णय गर्ने तयारी गरेकाे छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरूमा कात्तिकमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो।
रूपन्देही-३ मा राप्रपा सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ। दीपक मनाङे पदमुक्त भएपछि मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य पद पनि रिक्त छ।
निर्वाचन आयोगको सुझावअनुसार रिक्त पदका लागि सरकाले कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ।
भट्टराई यसअघि राष्ट्रिय सभा सदस्य थिए। प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका उनले रुपन्देही-५ मा उम्मेदवारी दर्ता गरेका थिए।
तर एमालेबाट तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरेले पनि रुपन्देही-५ मा उम्मेदवारी दर्ता गरेको र निर्वाचन आयोगले उनैलाई मान्यता दिएको थियो।
प्रतिकृया दिनुहोस