• २०८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025

राजनीतिबाट रिटायर्ड हुनुअघि पार्टीलाई एक नम्बर बनाउँछु: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन् ।

कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् ।

उनले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको बताए । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ’ देउवाले भने, ‘म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताए । संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै उनले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको उल्लेख गरे ।

‘समानुपातिक समावेशी र सबै जातीय प्रतिनिधित्व हुने संविधान राम्रो छ । तर एक्लैले बहुमत ल्याउन गारो छ’ उनले भने, ‘एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । हिजो माओवादीसँग मिल्यौ आज एमालेसँग । हामी मिल्ने हो भने एक्लै बहुमत ल्याउन सक्छौ ।’

श्याम कृष्ण प्रधान र उनकी पत्नी गौरीदेवी प्रधान बीपी कोइरालाको विश्वासको पात्र थिए । बीपीले उनीहरूको घरमा बसेर रणनीति तयार गर्थे ।

बीपीसँग आफू थुप्रै पटक पुगेको स्मरण गर्दै देउवाले प्रधान परिवारको योगदानको चर्चा गरे ।२००६ सालदेखि कांग्रेसमा लागेर प्रजातान्तिक लडाइमा होमिएकी गौरीदेवीको गत शनिबार निधन भएको हो ।

यसैबिच कांग्रेसले केन्द्रीय कार्यालय विस्तारका लागि सानेपामा १९ आना जग्गा र तीनतले घर किन्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो बनाउन थप जग्गा किन्न लागिएको हो । 

कार्यालयलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ कार्यालय अगाडिपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको मुख्य सचिव पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले अमिरमान अमात्यबाट घरजग्गा किन्न लागेको हो । बुधबार कांग्रेसले १ वर्षभित्र पास गर्ने गरी जग्गा खरिदका लागि अमात्यलाई ५० लाख रुपैयाँ बैना दिइसकेको छ । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर