• २०८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025

विद्या भण्डारीले भाेलि राजनीतिमा फर्केकाे घाेषणा गर्ने, ओली नजाने !

काठमाडाैं । शनिबार (भोलि) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा ७४औं ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रम गर्दैछ। उक्त कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अेाली र विशिष्ट अतिथिमा पूर्व राष्ट्ररपति तथा मदन पत्नी विद्यादेवी भण्डारी निम्त्याइएकाे छ ।

नेकपा (एमाले) को आन्तरिक पार्टी जीवनमा याे कार्यक्रम एक काेशेढुंगा हुनसक्ने एमालजन भित्र चर्चा सुरू भएकाे छ । 

भाेलिकाे कार्यक्रमकैबीचमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन् । एमालेका स्थायी समिति सदस्य कर्ण बहादुर थापाका अनुसार उक्त कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किनेबारे बोल्ने गरी तयारी गरेकी हुन्।

थापाले भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेकाले पनि भोलि दुविधा नरहने गरी बोल्ने बताए।

पछिल्लो समय भण्डारी निकट रहेका नेता थापाले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधान, ऐन, कानुन तथा पार्टी विधानले नछेक्ने बताए। 

‘उहाँलाई छेक्ने तयारी भैरहेको भन्ने पनि सुनिएको छ। त्यसबारे बहस हुँदै जाला। तर, उहाँले भोलि बोल्नुहुन्छ,’ थापाले भने। 

विधानमै निषेधकारी व्यवस्था गरेर पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य हुनबाट रोक्नुपर्ने विषय महासचिव शंकर पोखरेल स्वयंले अघि सारेका छन्।

बुधबार एमालेको ५३ औं सचिवालयको बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति चौतर्फी प्रहार भइरहेको बेला पूर्वराष्ट्रपति फेरि पार्टी राजनीतिमा फर्कने विषयले झनै नराम्रो गर्ने बताउँदै यो विषय सचिवालयमा उठाएका थिए। 

देशभित्र मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता बढाएकी भण्डारीले पछिल्लो पटक छिमेकी देश चीनको भ्रमणसमेत गरिन्। उनी निकट नेताहरूले भण्डारीले चीनबाट नेतृत्व र कम्युनिष्ट एकताका लागि ‘सद्भाव’ लिएर फर्किएको बताउने गरेका छन्।  

पछिल्लो पटक भण्डारीले ओलीलाई पार्टी नेतृत्वमा समर्थनका लागि आह्वान गरेकी थिइन्। ओलीको जवाफ स्पष्ट रूपमा सार्वजनिक भएको छैन। तर, ओलीले 'आफू जवान नै भएको', 'अझै २० वर्ष नेतृत्वमा रहने सक्ने' लगायतका अभिव्यक्ति दिँदै आएका छन्। 

यसैबिच भण्डारीको ७४औं जन्म जयन्तीको अवसरमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि बनाइएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति नहुने भएका छन्। उनी यसअघि हरेक मदन जयन्तीमा उपस्थिति हुने गरेका थिए ।

लामो समय देखि भण्डारी र ओलीबिच बढ्दै गएको दूरीका कारण पनि यस्तो हुन लागेको स्रोतले बतायो। यद्यपी ओलीले कार्यक्रममा सहभागी नहुने भनेर कुनै घोषणा गरेका छैनन् । 

यता प्रधानमन्त्री केपी शर्मा ओली भने युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  शनिवार त्यसतर्फ जाने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् ।

अध्यक्ष केपी ओलीले एमालेमा कुनै गुटको अस्तित्व छैन भन्दै गर्दा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट पार्टी अध्यक्षसहित सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेकी छन् ।

उनिहरुले आगामी विधान महाधिवेशनलाई निर्णायक संघर्षको बिन्दु बनाएका छन् । 

एमालेमा अहिले पनि विधानमा यस अघि व्यवस्था रहेको ७० वर्षे उमेरहद्को विषय बहसमा छ । ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा बढि पार्टीको मूल नेतृत्वमा हुन नपाउने व्यवस्था हुने हो भने अहिलेका अध्यक्ष केपी ओली स्वत बिदा हुनेछन् । विद्या भण्डारी पक्ष यही गर्न खोजिरहेको छ । 

अहिले विभिन्न पार्टीहरुसँगको एकताका लागि भने निलम्बन गरिएको उमेरहद र दुई कार्यकालको व्यवस्था सधैंका लागि लागू गर्ने पक्षमा ओली पक्षीय नेताहरु लागेका छन् । 

यो कार्यक्रममा यी दुई नेताले कस्तो विचार व्यक्त गर्दछन् भन्ने कुरा एमाले बृत्तमा चासोको विषय बनेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर