• २०८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025

यस्तो छ ओलीको एक साता लामो स्पेनमा भ्रमण तालिका

काठमाडौं । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु हुने आफ्नो स्पेन भ्रमणबारे संघीय संसद्लाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन आफू नेतृत्वको प्रतिनिधिमण्डल आज साँझ स्पेनको औपचारिक भ्रमणमा जान लागेको जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले आज असार १४ गते साँझ ६ बजे दोहा हुँदै स्पेनको यात्रा गर्न लागिएको बताए । प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिडमा यही असार १५ गते बिहान पुग्ने तालिका छ । भ्रमण दलमा २१ सदस्य छन् । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेपालको राष्ट्रिय हित प्रतिविम्बित गराउन आफूले भूमिका निर्वाह गर्ने बताए । स्पेनको सेभिया सहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन एक दशकमा एकपटक आयोजना गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सहभागिता हुँदै आएको छ ।

प्रधानमन्त्री ओलीले भ्रमणको दोस्रो दिन, यही असार १५ गते दिउँसो करिब ४ बजे स्पेनको सेभियामा नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापनसत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी गराए । उक्त दिन साँझ ५ बजे प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) पोद्रो साञ्चेजबीच भेटवार्ता हुनेछ । असार १५ नै प्रधानमन्त्री ओली स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्रिभोजमा सहभागी हुनेछन् ।

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री ओली सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुनेछन् । सोही दिन अपराह्न गेट्स फाउण्डेशनले आयोजना गर्ने विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन् । साथै सोही दिन दिउँसो मित्रराष्ट्र स्टोनियाका राष्ट्रपति अलार कारिस र प्रधानमन्त्री ओलीबीच द्विपक्षीय बैठक हुनेछ भने दिउँसो प्रधानमन्त्री ओलीले अल्पविकसित राष्ट्रहरु (एलडिसी) को अध्यक्षको हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

सोही दिन इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक हुनेछ भने संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटरेससँग पनि बैठक हुने कार्यतालिका छ । सोही दिन प्रधानमन्त्री ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् ।

भ्रमणको चौथो दिन असार १७ गते प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकमा अध्यक्षता गर्दै मन्तव्य दिनेछन् । स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने जनाइएको छ ।

तत्पश्चात नेपाल सरकार, बङ्गलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिका लागि सशक्त सहनशीलता तथा जलवायु वित्तीय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले जानकारी गराए ।

सोही दिन नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तीय स्रोतको प्रवाह शीर्षकको कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेेछन् । साथै सोही दिन दिउँसो अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन कार्यक्रममा पनि उनले सम्बोधन गर्नेेछन् भने राति ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्ने रात्रिभोजमा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यतालिका छ ।

पाँचौँ दिन, असार १८ गते प्रधानमन्त्री सेभियाबाट म्याड्रिडमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ भने नेपाल–स्पेन विजनेश तथा लगानी प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भ्रमणको छैटौँ दिन यही असार १९ गते स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीले रियल म्याड्रिड फुटबल क्लवका अधिकारीहरुसँगको भेटघाट र साण्टियागो वर्नावाउ रङ्गशालाको अवलोकन गर्नेछन् । साथै स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट गरी सोही दिन दोहा हँुदै प्रधानमन्त्री ओली स्वदेश फर्कने तालिका छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर