• २०८२ असार १५ आइतबार
  • Sunday, 29 June, 2025

विद्या भण्डारीले आफ्नो कुरा सुनेर जान भनिन्, तर ओली उठेर हिंडे

काठमाडौं । नेकपा एमालेका पूर्व महासचिव मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशन आज काठमाडौंमा ‘जबजका तीन दशक’ राष्ट्रिय गोष्ठी आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विशेष अतिथिका रूपमा सहभागी छन् ।

एमाले बृत्त मात्रै होईन नेपाली राजनीतिक बृत्तमा समेत चासोका साथ हेरिएको यो कार्यक्रममा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीले के बोल्छन् भन्नेमा सबैको चासो छ । अध्यक्ष केपी ओलीले बोलेर हिडिसकेका छन् भने पूर्वराष्ट्रपति भण्डारी बोल्न बाँकी छ । 

ओली कार्यक्रमको बीचैमा बोलेर हिड्न लागेपछि भण्डारीले मेरा कुरा पनि सुनेर जानु भनेकी थिइन् । तर अध्यक्ष ओली आज स्पेन जानुपर्ने लगायतका व्यवस्तता देखाउँदै बाहिरिएका छन् । 
कार्यक्रममा मन्तव्यका दौराननै ओलीले आफूलाई भण्डारीले कुरा सुनेर जान आग्रह गरेको खुलासा गरेका हुन् । उनले भण्डारीले राम्रो बोल्दै आएको र आज पनि राम्रै बोल्ने विश्वास रहेको कुरा ठट्यौली शैलीमा भन्दै उनी बाहिरिएका छन् । 

‘मदन भण्डारीको जन्म जयन्तीसँग हामीले राष्ट्रिय वृक्षारोपण कार्यक्रम गर्दै वातावरणमैत्री कार्यक्रम गरेका छौं। तर कतिपयले वृक्षारोपण कार्यक्रम भनेपछि यो कार्यक्रम भाँडिन्छ भनेर पनि लेखे,’ ओलीले भने, ‘एमाले जहाँ छ, एमाले निकटका संगठनको कार्यक्रम भाँडिन्छ ? म आउने र विद्या भण्डारी आउने कसरी भाँडिन्छ ? यस्तो विश्लेषण गर्ने ? कुनै बम बारुद, पड्कँदैन । एमाले एक छ, एकजुट भएर बस्छ । कुनै आश नगरे हुन्छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘महाकाली सम्झौता कार्यान्वयन गर्न पञ्चेश्वर परियोजना पनि कार्यान्वयन गर्छौँ । सम्झौता अनुसार बिजुलीको पैसा लिइराखेका छौँ । पानी लिँदैछौँ, लिन्छौँ । सम्झौता अनुसार चाँदनी दोधारामा १० क्युबिक पानी लिन्छौँ । पहिले प्रधानमन्त्री हुँदा कुरा गरेको थिएँ । अब फेरि कुरा गर्छौँ । 

उनले नेकपा एमालेले राष्ट्रको सार्वभौम सत्ता, सम्प्रभुता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता र स्वभिनालाई अलिकति तलमाथि हुन नदिने स्पष्ट पारे । उनले बहुदलीय जनवादले यसलाई नसहने बताए । 

 ‘त्यो सम्झौता ठिक थियो । तर, त्यसबेला देश बेचे, नदी खोला बेचे भनेर भनियो,’ उनले गुनासो गरे । अर्को पटक पनि पार्टी फुटाए पनि त्यही मजबुतीका साथ एमाले पुनः फर्किएको उनको भनाई थियो । उनले भने, ‘दिउँसै टर्च बालेर खोज्दा नभेटिने गरी धुलो पार्छु भनियो । नेकपा धुलो पार्न सकिने शक्ति होइन । कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्छु भन्नु बेग्लै कुरा हो । तर, नेकपा एमाले साधारण फलामको टुक्रा होइन ।’

उनले नेकपा एमाले देख्दाको आकार जस्तो नभएर दुनियाँको वामपन्थी र कम्युनिस्ट आन्दोलनमा असाधारण शक्ति भएको पनि दाबी गरे । उनले एमाले झुसे बारुलो नभएको स्पष्ट पारे ।

‘चिल भनेको ठुलो सिकारी पक्षी हो, सानो चिबे भन्ने चराले लखेटेर हैरान बनाइदिन्छ । आकार मात्र हेरे हुँदैन । त्योसँग विचारको दम छ कि छैन । त्यसको उद्देश्यमा सहीपना छ कि छैन । त्यसको प्रतिबद्धता कस्तो छ । अनेक कुराहरू हुन्छन् । त्यहाँ सही नेतृत्व पनि हुन्छ । सही विचार अङ्गीकार गरेर हिँड्ने प्रतिबद्धता छ कि छैन भन्ने कुरा हुन्छ ।’

यस कार्यक्रमलाइ एमालेभित्र ठूलाे विग्रह ल्याउने रूपमा बुझ्दै भण्डारी र अेालीले कार्यक्रममा झगडा गर्ने भनेर चर्चा गरिएकाेमा उनले असहमति जनाए ।

एमालेका तत्कालीन महासचिव जननेता भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा निधन भएको थियो ।

मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिएको छ । शनिबार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको एक कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो ।

७२ वर्षीय शेर्पा लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् । सो अवसरमा उनलाई एक लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर