• २०८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025

राजनीतिमा फर्किएसँगै पूर्वराष्ट्रपति भण्डारीले सरकारी सुविधा नलिने

काठमाडौं । एक दशकपछि नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवा–सुविधा फिर्ताको तयारी गरेकी छन् ।

पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ । 

भण्डारी निकट स्रोतले भन्याे, ‘धेरै नेता–कार्यकर्ताले सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने क्रममा सेवा सुविधा फिर्ताको जानकारी पनि गराउन भनेका थिए । तर उहाँले त्यो सस्तो प्रचार र स्टन्टबाजी हुने भन्दै सरकारको सम्बन्धित निकायलाई पत्र पठाएर फिर्ता गर्ने चाहना राखेकाले सोही अनुसारको प्रक्रिया अघि बढेको छ ।’

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रुपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ । रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्व स्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत छन् । त्यस्तै पूर्व राष्ट्र प्रमुखको लागि खटिने सुरक्षाकर्मीका लागि बस्न घर भाडामा लिइएको छ । 

भण्डारीलाई प्रोटोकलभित्र सुरक्षा भने हटाउन नमिल्ने गृह मन्त्रालयले जनाएको छ । पूर्व राष्ट्रपति भण्डारीले अरू पदाधिकारीले जस्तो गाडी सुविधा नलिएको तर २०७ लिटर पेट्रोल मासिक रूपमा उपलब्ध गराइएको छ ।

त्यस्तै सुरक्षाकर्मीको घरभाडा सम्बन्धित घरधनीलाई नै उपलब्ध गराउने गरिएको गृहले जनाएको छ । भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रमकाबीच पार्टीको सदस्यता नवीकरण गरेको जानकारी गराएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर