• २०८२ असार २० शुक्रबार
  • Friday, 4 July, 2025

नागरिक उन्मुक्ति पार्टीले पनि आजबाट फिर्ता लिनेभयो सरकारलाई दिएको समर्थन

काठमाडौं । कुनैबेला दुईतिहाइ मतको बलियो अवस्थामा रहेको संसदका दुई ठूला दल सहभागि भएको वर्तमान सरकार पछिल्लो चरणमा कमजोर बन्दै गएको छ ।

सरकारमा रहेका दलहरुले एक पछि अर्को समर्थन फिर्ता लिन थालेका छन् । उपेन्द्र यादव नेतृत्वको जसपाले यसअघि नै निर्णय गरिसकेको छ । 

नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् । औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने उनकाे भनाइ छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेसँगै नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो । 

'गठबन्धनमै रहे पनि हामीसँग छलफल नै नगरी सुदूरपश्चिममा हाम्रो पार्टीका मन्त्रीलाई बर्खास्त गरियो । अन्य सवालमा पनि गठबन्धनमा कुनै छलफल हुने गरेको छैन । यस्तो अवस्थामा सरकारमा रहिरहनु उपयुक्त लागेन', अध्यक्ष श्रेष्ठले बताइन् । 

पार्टीका संरक्षक रेशम चौधरीले पनि बिहीबारै सरकारबाट समर्थन फिर्ता लिने बताएका थिए ।  

सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । 

नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपछि पनि संघ र प्रदेश सरकार अल्पमतमा  पर्ने अवस्था भने छैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर