• २०८२ असार २३ सोमबार
  • Monday, 7 July, 2025

सत्ता गठबन्धनलाई लिएर कांग्रेस बैठकमा सभापति देउवामाथि एकपछि अर्को प्रहारः कसले के भने ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा गठबन्धन गरेर गएकोमा सभापति शेरबहादुर देउवाप्रति व्यङग्य गरेका छन् । आज (आइतबार) कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले सभापति देउवाले हँसिया धेरै बनाएका पनि घाँस नकाट्दा गाईभैँसी भोकै रहेको भन्दै गठबन्धन गरेकोप्रति व्यङग्य गरेका हुन् ।

‘शेरबहादुर देउवा सभापतिजीले यति धेरै हँसिया बनाउनु भयो । ए बाबु, यो यतिको हँसिया किन बनाउनु भएको भन्दाखेरी हँसियाले घाँस काट्न सकेनन्,’ भण्डारीले भने, ‘त्यसकारण गाई, भैँसीहरू भोका भए यही हो अहिलेको समस्या ।’ आफूलाई गठबन्धनका बेलामा पनि निर्वाचनमा टिकट दिएकोमा धन्यवाद दिँदै भण्डारीले गठबन्धन गर्दा धेरै नेताहरू टिकट पाउन र जनप्रतिनिधि बन्न छुटेको बताए ।

कांग्रेसले जनताका काम नगरेकाले अहिले गाउँ–गाउँमा कांग्रेसप्रति जनविश्वास नरहेको पनि भण्डारीले बताए । ‘काम गर्दिएको भए पो अगाडि बढ्न सक्थ्यो । पद लिने, काम नगर्ने, त्यो सबै जिम्मेवारी सभापतिले लिनुपर्ने हो ख्याल गर्नु पर्दैन,’ भण्डारीले भने, ‘हामीले सही समयमा सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी दिन सकेनौँ । अहिलेसम्मको निचोड मेरो विचारमा यही हो ।’ उनले आगामी कात्तिक १७ गतेका लागि मिति तोकिएको रुपन्देही–३ मा गठबन्धन नगर्न सुझाव दिए । भण्डारीले भ्रातृ संस्थाका अहिलेका समिति भङ्ग गरेर पार्टीले जिम्मेवारी लिएर महाधिवेशन गरिदिनुपर्ने बताएका छन् ।

उनले भने, ‘भ्रातृ संस्थाको अधिवेशन केन्द्रमा केन्द्रीय सभापतिले गराउनुस् । प्रदेशमा प्रदेश सभापतिलाई दिनुस् । जिल्लामा जिल्ला सभापतिलाई दिएर यो अधिवेशन गराउनुस् । यो झगडा गराएर केही पनि फाइदा छैन । अहिलेका कुनै पनि भ्रातृ संस्थाका समितिको काम छैन ।’

डा. मीनेन्द्र रिजालले पार्टी विधान संशोधन गरेर महाधिवेशन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । बैठकमा डा. रिजालले दुई चरणमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । आइतबारको बैठकमा बोल्दै उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र महाधिवेशनबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गरौं । महाधिवेशन प्रतिनिधिबाट सभापतिको निर्वाचन गरौँ,’ डा. रिजालले भने ।

आम निर्वाचन अगाडि महाधिवेशन प्रतिनिधिको मात्रै निर्वाचन भयो भने तलसम्म गुटबन्दी नहुने रिजालले बताएका छन् । ‘महाधिवेशन प्रतिनिधिको मात्रै आम निर्वाचन अगाडि निर्वाचन भयो भने तल–तलसम्म गुटबन्दी हुँदैन भन्ने लाग्छ मलाई । त्यो बाटो नगर्ने हो भने हामीले पार्टीमा झगडा गर्दा–गर्दा पार्टीलाई आउने निर्वाचनमा नाश गर्छौँ,’ रिजालले भने । सभापति निर्वाचित भए पनि उनले कार्यकालको सुरुवात आम निर्वाचनपछि मात्रै गर्ने गरी विधान बनाउनु पर्ने रिजालले बताए । त्यसबेलासम्म सभापतिले पार्टी कस्तो बनाउने हो त्यसैअनुरुप विधान संशोधनको प्रस्ताव तयार गर्ने प्रस्ताव उनको छ ।

‘निर्वाचित सभापतिले तत्काल कार्यकाल सुरु गर्ने होइन । आम निर्वाचन पछाडि मात्र कार्यकाल सुरु गर्ने र त्यो बेलासम्म विधान संशोधनको प्रस्ताव तयार गर्ने काम गर्नुपर्छ । जस्तो पार्टी बनाउन खोजेको हो, जतिवटा निर्वाचन गराउन खोजेको हो, जुन–जुन तहमा राख्न खोजेको हो, त्यो तहको काम गर्ने गरी विधानमा व्यवस्था गरौँ,’ रिजालले भने । आम निर्वाचन पछि केन्द्रमा पदाधिकारी र केन्द्रीय सदस्य तथा प्रदेश समिति र मातहतका समितिको निर्वाचन गर्नुपर्ने प्रस्ताव रिजालको छ ।

देउवा पक्षकै भनेर चिनिएका केन्द्रीय सदस्य एनपी साउदले अनुशासनका नाममा पार्टीभित्र एकपक्षीय कारबाही भइरहेको बताएका छन् । बैठकमा धारणा राख्दै उनले भने, ‘पार्टीभित्रको अनुशासन, गुटबन्दी र असमान व्यवहार देखिएको छ । अनुशासनका नाममा एक पक्षीय कारबाही भएको छ । यसले निराशा मात्रै बढाउँछ ।’

अनुशासनको मापदण्ड सबैमा समान रूपमा लागू हुनुपर्ने पनि उनले बताए । साउदले दुईतिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेको पनि बताए । ‘दुईतिहाइको सरकार बनेपछि सहमतिअनुसार संविधान संशोधनबारे छलफल अघि बढ्नुपथ्र्यो, त्यसमा ढिलाइ भएको छ,’ उनले भने । उनले वर्तमान राजनीतिक परिदृश्यमा कांग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी संगठन कमजोर बन्दै गएको चेतावनी दिए । साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ । यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले स्पष्ट आवाज उठाउनु पर्छ ।’

पूर्वमहामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राख्न प्रस्ताव गरेका छन्।

आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै कोइरालाले संविधान संशोधन गर्दा यही कुरा राख्न प्रस्तावसमेत गरेका हुन्।

‘धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता राखौं, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच २०७१ असार १७ गते भएको ७ बुँदे सहमतिमा पनि संविधान संशोधन गर्ने भनिएको थियो, पहिलो संशोधन यहीँबाट गरौं,’ कोइरालाले भने।

साथै उनले निर्वाचन प्रणाली हेर्न पनि सुझाव दिएका छन्।

‘प्रतिनिधि सभा सबै प्रत्यक्ष गरौं र राष्ट्रिय सभा पूर्ण समानुपातिक गरौं,’ उनले भने, ‘अहिलेको निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने देखिँदैन।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर