• २०८२ असार २४ मंगलबार
  • Tuesday, 8 July, 2025

रसुवा बाढी अपडेटः ६ चिनियाँसहित १८ जना सम्पर्कविहीन

काठमाडौं । मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । 

बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेको जानकारी दिए । हेलिकोप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्‍यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए ।

चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । साथै भन्सार यार्डमा रहेका वटा मालवाहक कन्टेनर डिब्बा बगाएको प्रहरीले जनाएको छ । त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । त्यहाँ रहेका केही ईभीहरूसमेत बगाएको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।

नदीमा पानीको बहाव भएकाले स्थानीय नागरिकलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बाढी हाल घट्दो क्रममा रहेको भएतापनि संभावित जोखिमलाई ध्यानमा राखि त्रिशुली नदीको रसुवागढी देखि धादिङ जिल्लाको वेनिघाट आसपाससम्म त्रिशुली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर