• २०८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025

अघिल्लो सरकारले सुरु गरेको मेरिटोक्रेसी कुल्चदै त्रिवि उपकुलपतिमा अर्याल नियुक्त

काठमाडौं । अघिल्लो  रकारले सुरु गरेको मेरिटोक्रेसि कुल्चदै त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा.दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकूलपति नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस गरेको थियो ।

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्वडीन प्रा.डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई सिफारिस गरेको थियो ।

उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि चैत ३१ गते विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ मा उपकुलपतिको नियुक्तिका लागि सहकुलपतिको अध्यक्षतामा समिति गठन हुने र सोही समितिको सिफारिसमा कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ । उक्त दफामा भनिएको छ– ‘विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि सिफारिस पेस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा सभाका दुई जना सदस्यहरू रहेको एक समिति गठन हुनेछ र सो समितिको सिफारिसमा कुलपतिबाट उपकुलपति नियुक्ति हुनेछ ।’ 

यही कानुनी व्यवस्थाअनुसार समितिले सोझै नाम सिफारिस गर्न सक्ने अधिकार राख्छ ।

शिक्षामन्त्री पन्त र प्रधानमन्त्री ओली दुवै यसपटक खुला प्रतिस्पर्धाको झन्झटिलो भन्दै सिधै नियुक्त गरे । मन्त्री पन्तले सार्वजनिक रूपमा नभने पनि अनौपचारिक कुराकानीमा त्रिविको नियमअनुसार नै छिटो र सरल प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने बताउँदै आएका थिए । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पनि यसअघिको जस्तो ‘मेरिटोक्रेसी’को नाममा अनावश्यक प्रक्रिया लम्ब्याउने पक्षमा प्रधानमन्त्री छैनन् । स्रोतका अनुसार सर्च कमिटीले सीधै तीन जनाको नाम सिफारिस गर्छ, त्रिविको नियमअनुसार नै हुन्छ ।

यसअघिको नियुक्ति प्रक्रिया भने फरक थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले योग्यता प्रणाली (मेरिटोक्रेसी) को आधारमा कार्यविधि बनाएर खुला प्रतिस्पर्धा गराएकी थिइन् । 

सोही प्रक्रियाबाट तीन जनाको नाम सिफारिस भए पनि कुलपति प्रचण्डले २०८० फागुन १० गते दोस्रो नम्बरमा रहेका प्राडा केशरजंग बराललाई उपकुलपति नियुक्त गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर