• २०८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025

सोविताले फेरि भनिन्ः स्पेनमा प्रधानमन्त्री सहभागि कार्यक्रममा गएका कतिपय नफर्किएको सत्य हो’

काठमाडौं । रास्वपा सांसद सोविता गौतमले स्पेनमा प्रधानमन्त्री सहभागि भएको कार्यक्रममा गएका कतिपय नफर्किएको भन्ने कुरा फेरि दाेहाेर्याएर भनेकी छन् । प्रतिनिधि सभाकाे बुधबारकाे बैठकमा उनले मंगलबार आफूले प्रतिनिधिसभामा बोलेको अभिव्यक्ति नेपाली भाषा बुझाइमा समस्या भएकाहरू भन्दै दाेहाेर्याएर फेरि भनिनन् ।  

साथै उनले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर नफर्किएका नेपालीहरूको बारेमा कसैले अपव्याख्या गर्छ भने त्यो आफ्नो नभई उनीहरूकै समस्या भएको दाबी पनि गरेकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रश्न गरेकी छिन्, ‘मेरो भनाइ रेकर्डबाट किन हटाउनुपर्ने ?’

मंगलबारको बैठकमा सांसद गौतमले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएकाहरू नफर्किएको भनेर समाचारहरू आएको बताउँदै उक्त विषय गम्भीर भएको बताएकी थिइन् । गौतमको अभिव्यक्तिलाई लिएर मंगलबार नै एमाले सांसद महेश बर्तौलाले नियमापत्ति जनाउँदै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए ।

सोही विषयबारे बुधवारको बैठकमा गौतमले स्पष्टीकरण दिँदै ‘प्रधानमन्त्री गएको कार्यक्रममा कोही गएर फर्किएनन् भन्नु र प्रधानमन्त्रीसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ’ रहेको बताइन् ।

उनले सांसदहरूमा नेपाली भाषा बुझाइमा समस्या भएका कारण आफ्नो भनाइ हटाउनु नपर्ने त होइन नि ? भन्दै प्रतिप्रश्न पनि गरिन् ।

‘सांसद महोदयहरूको नेपाली भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइ हटाउनुपर्ने त होइन होला नि ? मैले बोलेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भने त्यो मेरो समस्या होइन । जसको समस्या हो, उसैको उपचार गरियोस्,’ सांसद गौतमको चुनौती छ ।

आफूले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएकै मान्छे फर्किएनन् भनेर नभनेको गौतमले दाबी पेस गरिन् ।

‘सभामुख महोदय मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मान्छेहरू फर्किएनन् भनेको छैन । राम्रोसँग काम खोलेर सुन्नुहोस्,’ सांसद गौतमले भनिन् । उनले आफूले बोलेको कुराको पूर्ण जिम्मेवारी आफैँ लिने दाबी गर्दै प्रधानमन्त्री गएको कार्यक्रममा सहभागी हुने बहानामा सयौँ नेपाली स्पेन गएको र उतै बसेको साँचो रहेको दोहोर्‍याइन् । ‘मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो, प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किनुभयो,’ गौतमले भनिन्, ‘तर, यो पनि सत्य हो कि प्रधानमन्त्री जानुभएको कार्यक्रममा सयौँ नेपाली कार्यक्रमको बहानामा गएर फर्किएका छैनन् र उतै बसेका छन् ।’ प्रधानमन्त्री सहभागी उक्त कार्यक्रम निकै ठुलो भएकाले सयौँ एनजीको साइड इभेन्ट भएको उनले सुनाइन् ।

‘प्रधानमन्त्री जानुभएको कार्यक्रम ठुलो कार्यक्रम हो । दसौँ हजार मानिस सहभागी हुने कार्यक्रम हो । सयौँ एनजीओका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौँ मान्छे सहभागी हुन गएका पनि साँचो हो । केही नफर्किएको पनि साँचो हो,’ गौतमको दाबी छ ।

उनले फेक डकुमेन्ट बनाएर कार्यक्रममा लैजान भिसा लगाएका नेपालीहरूको दिल्लीस्थित स्पेनिस दूतावासले अन्तिम समयमा भिसा रद्द गरेको र विमान कम्पनीलाई अलर्ट म्यासेज आएको सूचना पनि रहेको बताइन् । ‘कसरी र कति रकम मोलमाेलाई गरेर नेपाली पठाइएका छन् भन्ने बारे त एउटा मिडियामा अडियो नै पनि आएको छ’। सांसद गौतमको दाबी छ ।

गौतमपछि बुधवारको बैठकमा बोलेकी एमाले सांसद सुनिता बरालले भने गौतमलाई भाषा र परिभाषाको ज्ञान सिकाउन तयार रहेको जवाफ दिइन् । ‘पटक पटक टिप्पणी गरिएका माननीयलाई म प्रश्न गर्न चाहन्छु, भाषाको ज्ञान र परिभाषाको ज्ञान तपाईँलाई सिकाउन हामी तयार छौँ । तर, बोल्दा हेक्का राखेर बोल्न म चुनौती पनि दिन चाहन्छु’, बरालको चुनौती छ ।

बरालले संसद् अफवाह फैलाउने र गलत कुराको प्रचार गर्ने थलो नभएकोमा सचेत गराइन् । ‘यो संसद् अफवाह फैलाउने, गलत कुराको प्रचार गर्ने, गलत टिप्पणी गर्ने र आफू बाहिरिने, कुनै कुराको धैर्यतापूर्वक सुन्न पनि नसक्ने ठाउँ होइन,’ बरालले भनिन्, ‘फेरि पनि म दोहोर्याएर भन्न चाहन्छु, तथ्यको आधारमा कुरा गरौँ, देशको प्रधानमन्त्री दल विशेष मात्रै होइन राष्ट्रको एउटा कार्यकारी प्रमुखको हिसाबले गएको हुन्छ ।’

यस्तो छ गौतमले बुधबारको बैठकमा दिएको स्पष्टीकरणको पूर्णपाठ : 

सम्माननीय सभामुख महोदय,

हामी निरन्तर भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने गराउने निकृष्ट कार्यका विरुद्धमा संसदमा उच्चस्तरीय छानबिन आयोग वा संसदीय छानबिन समिति बनाउन पर्ने माग गरिरहेका छौँ । सरकारले सुनेन, यस्तो नागरिक बेचिने र देशकै छविमा आँच आउने गम्भीर विषयमा पनि सरकारले स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा आफू मातहतकै आफूभन्दा कनिष्ठ कर्मचारीहरू सम्मिलित एउटा सामान्य टालटुले प्रशासनिक समिति बनाएर झेली खेल खेलेको छ, यसकै विरोधमा हाम्रो कुरा नसुनेका कारण हामी संसद् बहिस्कार गरिरहेका छौँ ।

यसै सन्दर्भमा हिजो मैले संसदमा राखेको विषयवस्तु हटाउन माग भएको रहेछ । प्रधानमन्त्रीज्यूको सचिवालयबाट चुनौती पनि आएछ । केही माननीयज्यूहरूले बतासे, केटाकेटी भन्न समेत भ्याउनु भएछ ।

सभामुख महोदय,

रास्वपा जिम्मेवार पार्टी हो । जिम्मेवार पार्टीको जिम्मेवार सांसद भएको कारण म केही आफ्ना कुरा सम्माननीय सभामुख महोदय मार्फत सबैको जानकारी र स्पष्टताको लागि पुन राख्न चाहन्छु ।

सभामुख महोदय,

मैले कहीँ पनि स्पेनको कार्यक्रममा प्रधानमन्त्रीसँग गएका मानिसहरू फर्किएनन् भनेको छैन । राम्रोसँग सुन्नुस् । मैले हिजो बोलेको वाक्य पुनः दोहोर्याउछुः

स्वयम् सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने लगायता समाचार आइरहेका छन् । (मैले भनेको वाक्य यही नै हो)

सभामुख महोदय,

प्रधानमन्त्री गएको कार्यक्रममा केही गएर फर्किएनन् भन्नु र प्रधानसँग गएर फर्किएनन् भन्नुमा निकै अन्तर छ । किन मेरो भनाई रेकर्डबाट हटाउने ?

सांसद महोदयहरूको नेपाल भाषा बुझाइमा समस्या भएका कारण मेरा भनाइहरू हटाउनुपर्ने त होइन होला नि  ? मैले भनेको विषय कसैले नबुझेर अपव्याख्या गर्छ, चुनौती दिन्छ भन्ने त्यो मेरो समस्या हैन । जसको समस्या हो उसैको उपचार गरियोस् । 

सभामुख महोदय,

मैले बोलेको विषयको म पूर्ण जिम्मेवारी लिन्छु । यो सत्य हो प्रधानमन्त्रीज्यूको आधिकारिक प्रतिनिधि मण्डल भ्रमण टोली, सबै कार्यक्रम सकेर नेपाल आउनुभयो । तर यो पनि सत्य हो कि, प्रधानमन्त्री जानुभएको महासम्मेलनमा सयौँ अरू नेपाली कार्यक्रमको बहानामा गएका छन् र फर्किएका छैनन् । यस्ता युएनलगायतका महासम्मेलनमा पहिले पनि यसरी मानिसहरू जाने गरेकै हो, यो सबैलाई थाहा नै छ ।

प्रधानमन्त्री ज्यु जानु भएको स्पेनको कार्यक्रम निकै ठुलो कार्यक्रम हो । १० औँ हजार सहभागी हुने कार्यक्रम हो । सयौँ एनजिओहरूका साइड इभेन्ट पनि हुन्छन् । नेपालबाट सयौँ मान्छे सहभागी हुन गएको पनि साँचो हो । केही नफर्किएको पनि साँचो । फेक डकुमेन्ट बनाएर कार्यक्रममा लैजान भिसा लगाएका नेपालीहरूको दिल्लीस्थित स्पेनिस दूतावासले अन्तिम समयमा भिसा रद्द गरेको सूचना हामीसँग छ । विमान कम्पनीलाई अलर्ट म्यासेज आएको सूचना हामीसँग छ ।

कसरी र कति रकम मोल मलाई गरेर नेपाली पठाइएका छन् भन्ने बारे त एउटा मिडियामा अडियो नै पनि आएको छ ।

सभामुख महोदय,

केही रकम मोलमलाई गरेर फेक डकुमेन्टको प्रयोग गरी भिसा लिन सहयोग गर्ने र दुरुपयोग गर्ने लगायतका कार्य हिजो पनि थियो तर सरकारले भनेको समिति बनाइसक्दा पनि यो कार्य रोकिएको छैन भनेर नै यो विषयको गाम्भिर्यता हेरी हामीले संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको माग गरेका हौँ ।

सभामुख महोदय,

संसदमा उठ्ने धेरै प्रश्नहरू सामाजिक सञ्जाल, मिडिया र नागरिक चिन्ताबाट जन्मन्छन् । सांसदले संसदमा उठाएको प्रश्नमा सरकारले शान्त शैलीमा जिम्मेवार ढङ्गले सदनमै आएर जवाफ दिने हो । तर जसरी सत्ता पक्षका माननीयज्यूहरू प्रधानमन्त्री भन्ने शब्द सुनेपछि, त्यसपछि भनेका कुरा राम्रोसँग पनि नसुनी कन असामान्य शैलीमा रेकर्डबाट हटाउनुपर्छ वा यो त्यो भनेर अनावश्यक बचाउमा प्रस्तुत हुनुभयो यसमा मेरो आपत्ति छ ।

स्मरणहोस्, सत्तापक्ष पनि संसदको अङ्ग हो । सरकार हैन । हाम्रो प्रश्न सरकारलाई हो र त्यसको जवाफ सरकारले नै दिनुपर्छ । सांसदले संसदमा उठाएको प्रश्नमा सरकारको सचिवालय वा अन्य संरचना पनि चुनौती दिँदै नहिँडोस् । धम्की दिँदै नहिँडोस् । जसको क्षेत्राधिकार जहाँ र जति हो, त्यसमै सीमित हुनु विधिको शासनको आधारशिला हो । सम्माननीय प्रधानमन्त्रीज्यूको पनि ध्यानाकर्षण गर्न चाहन्छु । साथै, पछिल्लो समय बोलेकै आधारमा सरकारको ठाडो निर्देशनमा साइबर अपराधको कानुन लगाएर समाउने थुन्ने र मुद्दा लगाउने काम भएको छ ।

मैले नभनेको विषयलाई अपव्याख्या गरी मेरो चरित्र हत्या गर्ने, मलाई धम्कीपूर्ण सन्देश पठाउनेहरूलाई सम्माननीय प्रघानमन्त्रीज्युले कहिले मुद्दा चलाउनुहुन्छ ? समीक्षा र एलिना छोरीको पक्षमा उभिनुभएकोमा धन्यवाद दिँदै छोरीको पक्षमा उभिने नेतृत्व सबै छोरीका लागि संरक्षण गर्ने पात्र हुनुहुन्छ भन्ने विश्वास पनि गर्दछु ।

यति भन्दै, सरकारले हाम्रो संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोग बनाउने माग पुरा नगरेका कारण हामी यो संसद् बहिस्कार गर्ने जानकारी गराउँछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर