आर्थिक वर्षको अन्त्यमा कता गाएब भए थवाङका प्रशासकीय अधिकृतसहित ७ कर्मचारी ?

रोल्पा । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ । गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् ।
‘उहाँहरू हिजो बिहानैदेखि हिँड्नु भएको हो । अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ बुढामगरले भने, ‘आजै रातिसम्म मात्रै भुक्तानीको समय छ । पालिकालाई समस्या परेको छ ।’ साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएको उनले बताए । सूचना अनुसार, कार्यालयको भुक्तिनीका लागि आवश्यक पर्ने ओटीपी कोडका लागि उनीहरू रुकुम पूर्व गएर काम गर्ने भन्दै हिँडेका थिए । उनीहरूसँग निरन्तर सम्पर्क गर्न खोज्दा पनि नभेटिएको पालिकाको सूचनामा उल्लेख छ ।
‘प्रमुख प्रशासकीय अधिकृत लगायत आर्थिक प्रशासन प्रमुख, सव–इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहान ७ बजेदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको,’ सूचनामा भनिएको छ ।
उनीहरूको खोजी गर्दा रुकुम पूर्वमा नभेटिएको र कार्यालयको तर्फबाट समपर्क गर्दा पनि सबैको मोबाइल स्वीच्ड अफ रहेको पालिकाले जनाएको छ । उनीहरू सबैलाई यथाशिघ्र चाँडो सम्पर्कमा आउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।
सम्पर्कविहीन कर्मचारीहरू
१) हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत ।
२) हरिश माझी, सहायक प्रशासन पाँचौ ।
३) यज्ञप्रसाद कडेल, सह–लेखापाल ।
४) चन्द्रप्रकाश ओली, सव–इन्जिनियर ।
५) निशा आचार्य, सव–इन्जिनियर ।
६) शिवकुमार वली, खा.पा.स.टे ।
७) प्रदिप के.सी., सवारी चालक ।
प्रतिकृया दिनुहोस