• २०८२ असार २७ शुक्रबार
  • Friday, 11 July, 2025

नेप्सेको पुनर्संरचना गरौँ, निजीलाई दिन हतार नगरौं: वर्षमान पुन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिन हतार गर्न नहुने बताएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज (बिहीबार) को बैठकमा पुनले पहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गरेर केही समय हेर्नुपर्ने बताएका हुन् ।

‘अहिले नै नयाँ स्टकको लाइसेन्स दिन हतार गर्नु हुँदैन, नेप्सेको पुनर्संरचना गरेर हेर्नुपर्छ । यदि, चाहिने नै रहेछ भने पछि दिँदा पनि हुन्छ’, उनले भने, ‘निजी क्षेत्रका लगानीकर्ता नेप्सेमा भित्र्याउन सरकार स्पष्ट हुनुपर्छ । पहिले लाइसेन्स दिएर नेप्सेको पुनर्संरचना अलमलमा पार्नु हुँदैन ।’ 

भोलि ‘कार्टेलिङ’ को समस्या उत्पन्न हुन सक्ने उनले बताए । अध्यक्षको कम्पनीलाई नै आईपीओ निष्कासन गर्न दिइएको भन्ने विषय चर्चामा रहेको पनि उनले उल्लेख गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले स्टक एक्सचेन्जका बारेमा आफूले अर्थ समितिबाट दिएको पहिलेको निर्देशनमा फरक मत राखेको बताए । 

दोस्रो स्टकको गेम भ्रष्टाचार गर्न नै रहेको पहिले युवराज खतिवडाले बताएको सम्झँदै उनले पुँजीवादी व्यवस्थामा आर्थिक संस्थाहरू कब्जामा जान दिन नहुने बताए । 

वाग्लेकाअनुसार केहीलाई पोस्ने गरेर नयाँ एक्सचेन्ज ल्याइए २०८४ मा आफ्नो पार्टीले खारेज गर्ने चेतावनी दिए । आइपीओको खेलमा धितोपत्र बोर्डका अध्यक्ष नै मुछिनु राम्रो नभएको उहाँले बताउनु भयो । हाइड्रो, होटलहरु आइपीओ जारी गरेर सहकारी जस्तै भाग्ने खतरा देखिएको सांसद वाग्लेले बताए । 

घाटामाथि घाटामा गएका कम्पनीहरूलाई आइपीओमा लगेर साना लगानीकर्ता लुट्ने नियामकीय निकायहरूको खेल रहस्यमय भएको बताए ।वाग्लेले भने,‘नेप्सेलाई पुनर्संरचना गरौँ, निजी सहभागिता बढाउने ध्यान छैन । अहिले  नयाँ लाइसेन्स दिन ध्यान जानु प्रिपेड भ्रष्टाचार नै हो भन्ने मलाई लाग्यो ।’

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डको कमजोरीले पुँजीबजारबाट साना लगानीकर्ता लाभान्वित हुन नसकेको बताए । पुँजीबजारको अवस्था उत्तारचढावमा रहेको र  साना लगानीकर्ता निराश भएको भन्दै उनीहरु लाभान्वित हुनसक्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । 

उनका अनुसार नियामक निकायका कारण लगानीकर्ता निराश हुनुपर्ने अवस्था रहनुहुँदैन ।  
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्वार्थ समूहको दबाबमा बजारमा नयाँ कम्पनी ल्याउन खोजिएको बताए । उनले कसैको दबाबमा स्टक एक्सचेन्ज ल्याइए कार्टेलिङ बढ्ने र जनताको लगानी झन् डुब्ने खतरा रहेको बताए । उनकाअनुसार अहिलेको स्टक एक्सचेञ्जलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ । 

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले धितोपत्र बोर्डका अहिलेसम्मका अध्यक्षमाथि प्रश्न उठेको र अहिलेका अध्यक्ष समेत अछुतो नरहेको बताए । नियुक्तिको प्रक्रियादेखि अहिलेसम्म सन्तोषनारायण श्रेष्ठमाथि प्रश्न उठ्नु राम्रो नभएको बताए । 

प्रमुख सचेतक चौधरीले भने–‘आफ्नो भाइको ट्रेड टावरलाई फास्ट ट्रायकबाट आइपीओ दिनुभयो, तर अरूलाई नदिएको भन्ने छ, खास के हो ?’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर