प्रधानमन्त्रीले कांग्रेसका खेलकुदमन्त्रीलाई मञ्चबाटै भनेः ‘राजनीति गर्ने होईन, एनपीएल रोकिँदैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् । उनले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई लक्षित गर्दै खेलकुद राजनीति गर्ने ठाउँ नभएको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) का सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान)बीच विवाद चलिरहेको छ । एनपीएलको हिसाबकिताबका सबालमा दुई निकायबीच भइरहेको विवादबीच प्रधानमन्त्री ओलीले मन्त्री चौधरीलाई खेलकुदको विकासमा लाग्न निर्देशन दिएका हुन् ।
‘सरकारमा राजनीतिक दल नै आउने हाे। सरकारमा आएपछि जुन क्षेत्रको काम छ, त्यसको विकास गर्ने हो । कृषि हो भने कृषिको विकास हुनुपर्यो, उद्योग हो भने उद्योगको विकास हुनुपर्यो । त्यहाँ राजनीतिक गर्नु भएन,’ सातदोबाटोमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब’ को उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भने, ’खेलमा हो भने खेलको विकास गर्नुपर्छ । खेललाई अगाडि लैजानु पर्छ । त्यहाँ ‘पोलिटिक्स’ गर्ने होइन । पोलिटिक्सका लागि ‘देयर इज नो स्पेस’ । जो आउँछ, उसले पोलिटिक्स गर्ने होइन खेलमा ध्यान दिनुपर्यो ।’
मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न आफू निकट राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सोही कार्यदलले अख्तियारले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको थियो । त्यसमा पनि प्रधानमन्त्री ओलीले आपत्ति जनाए । उनले उल्टै क्यानलाई एनपीएलको तयारी गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले एनपीएलको भब्य तयारी हुनुपर्ने बताए ।
‘एनपीएलको भब्य तयारी गर्नुस् । यो हाम्रो नेशनल प्राइड हो । यसलाई राष्ट्रियस्तरमा बढाउनु पर्छ । जसरी क्रिकेटको क्रेज बढेको छ । देशमा त्यसरी नै एनपीएललाई अगाडि लैजानु पर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनु पर्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओली यतिमा मात्र सीमित भएनन् । कर्णाली प्रदेशमा हुने भनिएको राष्ट्रिय खेलकुद पटक–पटक सारिएकोमा आपत्ति जनाए । उनले अब अर्को मिति नसारिने र मंसिरमा जसरी पनि गर्न मन्त्रालयसहित सम्बन्धित निकायलाई निर्देशन दिए । ‘अब राष्ट्रिय खेलकुद मंसिरमा हुन्छ । मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिन चाहन्छु । अब लज्जाको विषय भएको छ । अब निर्धारित मिति सार्न मिल्दैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले कीर्तिपुर रंगशाला सानो भयो भनेर चित्त नदुखाउन क्रिकेट समर्थकहरूलाई आग्रह गरे । उनले यो पहिलो फेजअन्तर्गत बनेको र दोस्रो फेजमा अझ ठूलो रूपमा विस्तार हुने बताए ।
‘कीर्तिपुर रंगशाला सानो भएर आत्तिनु भएन । यो निरन्तर विस्तार हुन्छ । धेरै जनाले हेर्ने बनाउँछौं । अहिलेको त फस्ट फेजको काममात्र हो । दोस्रो फेजमा अझ ठूलो विस्तार हुन्छ । अब यो क्रिकेट मैदानमात्र होइन, रंगशालामा परिणत भएको छ । राति खेल्न मिल्ने हुनेछ । यसलाई अन्तर्राष्ट्रिय स्तरको मैदानको रूपमा विकास गर्दैछौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिकृया दिनुहोस