घुस काण्डमा मुछिएका मन्त्री गुप्ता प्रधानमन्त्री भेट्न पुगे, के गर्लान ओलीले ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् ।
७८ लाख घुस प्रकरणको अडियो बाहिरिएपछि विवादित बनेका मन्त्री गुप्तालाई हटाउने तयारी स्वरूप प्रधानमन्त्री ओलीले छलफलको लागि बालुवाटार बोलाएका हुन् । अहिले प्रधानमन्त्री ओली र मन्त्री गुप्ताबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो ।
विवादित अडियो आएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले सोधखोज गरेका थिए । मन्त्री गुप्ताले आफूलाई फसाउने नियतले पैसाको पोको नै मन्त्री क्वार्टरमा छोडेर अडियो बनाएको दाबी गरेका थिए ।
तर उनको दाबी चित्तबुझ्दो नभएपछि ओलीले हटाउने तयारी गरेको स्रोत बताउँछ । उनलाई राजीनामा दिन लगाउने ओलीको तयारी छ । राजीनामा दिन अस्वीकार गरे बर्खास्त गरिने बालुवाटार स्रोतले बतायो ।
आजै साँझ प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका शीर्ष नेताको बैठक पनि डाकेका छन् ।
एकपछि अर्को मन्त्री विवादमा तानिएपछि कांग्रेस एमालेलाई केही मन्त्री हेरफेर गर्नुपर्ने दबाब समेत बढेको छ । २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो ।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो । उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी समेत परेको छ ।
यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । तर, आफूले कुनै गल्ती नगरेको दाबी उनको छ ।
प्रतिकृया दिनुहोस