• २०८२ असार ३० सोमबार
  • Monday, 14 July, 2025

गुरूङ दम्पत्तिको प्रशंसा गर्दै ओलीले भनेः दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख गरेर धन कमाएर सामाजिक काममा दान गर्ने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङको उच्च प्रशंसा गरेका छन्।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गर्दै प्रशंसा गरेका हुन्। उनले भने, 'कसैले पैसा कमाएर क्यासिनोमा खर्च गर्छन्, गुरुङ दम्पतीले अस्पताल बनाउन दान गर्छन्। क्यासिनोमा खर्च गर्नेहरू सुध्रिऊन्, गुरुङ दम्पतीको दान गर्ने क्षमता वृद्धि हुँदै जाओस्।'

सोमबार भाटभटेनी समूहद्वारा ९ करोड ५० लाख बराबर लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै निरोगी नेपालको नारा दिएको उल्लेख गरे।

स्वास्थ्यका लागि खाना खानुपर्ने र सन्तुलित खानेकुरा खानुपर्ने भन्दै उनले अरुको उपचार मात्रै गर्ने नभइ आफ्नो स्वास्थ्य पनि ठिक राख्न व्यायाम, प्राणायाम गर्न चिकित्सकहरुसँग आग्रह गरे।

‘अघिल्लो पटक नै म प्रधानमन्त्री हुँदा निरोगी नेपालको नारा दिएको थिएँ, निरोगी नेपालका दुई वटा पक्ष छन्,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘एउटा बिरामी नै पर्न नदिने मानिसलाई। बिरामी नपर्ने र नहुने अवस्था सिर्जना गर्ने। अस्पताल भन्दा पहिला त मान्छे निरोगी बनोस्। अहिलेको समय यस्तो भइरहेको छ, निरोगी नहुने सम्भावनै नदेखिएको जस्तो भएको छ। यस स्थितिमा सुधार गर्नुपर्नेछ। खानपिनमा ध्यान दिनुपर्छ, काममा ध्यान दिनुपर्छ। आराममा ध्यान दिनुपर्छ। तीन वटा कुराको सन्तुलन हुनुपर्छ।’

उनले थपे, ‘डाक्टरसावहरुलाई पनि मेरो सुझाव छ- अरुको उपचार गर्ने मात्रै होइन, आफू पनि स्वस्थ रहनुस्। व्यायाममा ध्यान दिनुहोला। योग गर्नुभयो भने धेरै राम्रो हुन्छ।’

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको अभियानलाई महत्वका साथ अघि बढाइरहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर