श्रीलंकाको पोष्टमा नेपालको गोलवर्षा

काठमाडौं । २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिपको आज सम्पन्न खेलमा नेपालले उत्कृष्ट परिणाम निकालेको छ ।
बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामामा सम्पन्न खेलमा नेपाले श्रीलंका विरुद्ध ७–० गोलको फराकिलो जित आत्मसाथ गरेको हो ।
नेपालको सहज जितमा पहिलो हाफमा ५ गोल भएको थियो भने दोसे हाफमा नेपलले २ गोल थप गरेको थियो । नेपालको जितमा मिना देउवाले ह्याट्रिक गर्दा पुर्णिमा राईले २ तथा समिक्षा मगर र सरिता कुमारी नाथले समान १ गोल गरे ।
खेलको आठौं मिनेटमा मिनाले गोलको खाता खोलिन्।उनले बक्स बसहिरबाट हानेको प्रहार गोलमा परिणत भयो। १३ औं मिनेटमा समिक्षाले अग्रता दोब्बर पारिन्। खेलको ४२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। श्रीलंकाकी गोल किपर थारुसिका डि डोडामगोडागीले रिबाउन्ड गरेको बलमा मिनाले सेकेन्ड बारमा हानेको प्रहार पोलमा लाग्दै गोल भयो।
पहिलो हाफको इन्ज्युरी टाइममा पूर्णिमा राईले दुई गोल गरिन्। थप गरिएको ४ मिनेटको दोस्रो मिनेटमा काउन्टर एटयाकमा बक्स बाहिरबाट हानेको प्रहारले सही दिशा लियो। यसपछि इन्ज्युरी समयको चौथौ मिनेटमा पूर्णिमाले किपरसँगको वान भर्सेज वानमा हानेको प्रहार किपरको हातमा लागेर गोलमा परिणत भयो। पहिलो हाफमा नेपालले ५–० को अग्रता बनायो।
दोस्रो हाफमा भने श्रीलंका विरूद्ध नेपालले दुई गोल मात्र गर्न सक्यो। ७० औं मिनेटमा वर्षा ओलीको पास श्रीलंकाको डिफेन्डरलाई लागेर आएको बललाई मिनाले सही दिशा दिईन्। योसँगै मिनाले ह्याट्रिकको सफलता प्राप्त गरिन्।
यसपछि इन्जुरी समयको पहिलो मिनेटमा करिब २५ कार्ड टाढाबाट सरिताले हानेको फ्रिकिक प्रहार श्रीलंकाकी होल किपरको हातमा लाग्दै गोलमा परिणत भयो।
यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३–२ गोल अन्तरले पराजित भएको थियो।
श्रीलंकाले भने आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५–० गोल अन्तरले पराजित भएको थियो।
नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ। यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ। हरेक देशले एक अर्काविरुद्ध २–२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ।
नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ।
प्रतिकृया दिनुहोस