गल्ती गर्ने एन्फा: स्पष्टीकरण साेधियाे हेड काेचलाई
2025-07-09-05-12-11.jpeg)
काठमाडाैं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डसँग स्पष्टीकरण सोधेको छ।
एन्फाले उज्वेकिस्तानमा भएको घटनाको विवरण माग गर्दै मुख्य प्रशिक्षक वाइल्डलाई स्पष्टीकरण सोधेको हो। तर मुख्य प्रशिक्षक वाइल्डले भने अहिलेसम्म त्यसको जवाफ नपठाएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
'हामीले घटनाको बारेमा पूर्ण जानकारी माग गरेका हौँ, तर अहिलेसम्म कुनै जवाफ आएको छैन,' उनले भने, 'सचिवालयबाट पत्र गएको हो, जवाफ आएको भए महासचिव (किरण राई)ले भन्नुहुन्थ्यो। अहिलेसम्म केही नभनेकाले जवाफ आएको छैन होला।'
महिला टोलीका मुख्य प्रशिक्षक वाइल्डले उज्वेकिस्तानमा हुँदा नै घटनाको बारेमा तीन पेज लामो पत्र एन्फालाई पठाएका थिए।
'घटनापछिका कुरा र विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचार र अन्तवार्ता आएको छ। त्यसका बारेमा के कुरा हो भनेर बुझ्नका लागि पत्र पठाएका हौँ,' प्रवक्ता सुरेश शाहले भने, 'टिम म्यानेजर र हेड हफ डेलिगेट्सले रिपोर्टहरू बुझाउनु भएको छ। उहाँहरूले पत्रकार सम्मेलन गरेर पनि सबै कुरा बताइसक्नु भएको छ। त्यसैले अहिले मुख्य प्रशिक्षकलाई यसबारे सोधेका हौँ।'
उताबाट जवाफ आएपछि के गर्ने भनेर अगाडिको प्रक्रियाका बारेमा निर्णय लिने शाह बताउँछन्। 'मुख्य प्रशिक्षकसँग १ वर्षको सम्झौता भएकाले उहाँ नेपाल आउनुहुन्छ। उहाँ आउनुहोस् भन्ने चाहेका छौँ। तर, उहाँको कुरा पनि सुन्न पर्यो' उनले भने।
कप्तानी विवादको विषय टोली नेपाल फर्कँदा केही मथ्थर देखिए पनि त्यसको भोलिपल्ट सञ्चारमाध्यममा मुख्य प्रशिक्षकको अन्तर्वार्ता आएपछि विवादले ठूलो रुप लिएको थियो। मुख्य प्रशिक्षकले खेलाडीको सेवा सुविधा र व्यवस्थापनको कमजोरीका विषय उठाएका थिए। तर त्यसको जवाफ दिन पत्रकार सम्मेलन गरेका टोलीका म्यानेजर, व्यवस्थापकीय टोली र हेड अफ डेलिगेट्सले कप्तानी विवादको विषयलाई जोड दिएर आफूमाथि उठेका प्रश्न ओझेलमा पार्ने प्रयास गरे।
एएफसी एसियन कप छनोटअन्तर्गत समूह एफ को खेलका लागि नेपाली राष्ट्रिय टोली उज्वेकिस्तान पुगेको थियो। समूह चरणको पहिलो खेलमा लाओसविरुद्ध मुख्य प्रशिक्षक प्याट्रिकले टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बालाई कप्तानी जिम्मेवारी दिएका थिए।
तर वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेट अगाडि पनि कप्तानको नाम नदिएपछि आफूहरूले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटेलाई कप्तान बनाएको तर प्रशिक्षकले साम्बा नै कप्तान हुनुपर्छ भन्ने अडान राखेपछि ड्रेसिङ रुममा विवाद भएको हेड अफ डेलिगेट्स तथा एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठले बताएकी छिन्।
पत्रकार सम्मेलनमा श्रेष्ठले भनिन्, 'खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको सूची बुझाउनुपर्छ। हामीले बारम्बार नाम माग्दा पनि मुख्य प्रशिक्षकले ९० मिनेटअघि दिँदैन भन्नुभयो। ५ मिनेटअघि दिनुभयो। जसमा कप्तानको नाम थिएन। हामीले सिनियारिटी हेरेर रेनुकालाई कप्तान बनाएका थियौँ।'
साम्बालाई कप्तान नबनाउने भनेर कुनै राजनीति नगरिएको दाबी समेत उनले गरेकी थिइन्।
‘अन्तिममा कप्तान चयन हुँदा यस्तो समस्या भएको हो। त्यसमा तपाईंहरूले अन्यथा नसोचिदिनुहोला,' उनले भनेकी थिइन्, 'साम्बा एक दिन १०० प्रतिशत कप्तान हुन्छिन्। यो देशमा अरू आउँछ भन्ने सोच छैन। त्यसकारण साम्बालाई नबनाउने भनेर पोलिटिक्स गरेको होइन।’
व्यवस्थापक देवानले प्रशिक्षकको काममा आफूहरूले दख्खल नदिएको र टोलीको आवश्यकता अनुसारको व्यवस्थापन गरेको दाबीसमेत गरेकी छिन्। प्रशिक्षक वाइल्डले एन्फालाई पठाएको पत्रमा भने त्यसको ठीक विपरीत आफूले व्यवस्थापकलाई नाम होटलबाट निस्कने बेला लिफ्टमा नै दिएको दाबी गरेका थिए।
तर टिम व्यवस्थापक र हेड अफ डेलिगेट्सले अर्कै खेलाडीको नाम दिएपछि वाइल्डले साम्बा नै कप्तान हुनुपर्ने अडान लिएका थिए। यही विषयमा विवाद हुँदा खेलअघि ड्रेसिङ रुमको माहोल खराब भएको र साम्बाले पहिलो हाफमा राम्रोसँग खेल्न नसकेको समेत प्रशिक्षकले एन्फामा पठाएको पत्रमा छ।
मुख्य प्रशिक्षक वाइल्डले एन्फाको हस्तक्षेप रोकिएर व्यवस्थापन नसुध्रिएसम्म आफू नेपाल नफर्कने चेतावनीसमेत दिइसकेका छन्।
प्रतिकृया दिनुहोस