• २०८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025

भण्डारीको प्रवक्ता बनेको भन्दै ओलीले झपारे नेताहरू

काठमाडौं । नेकपा एमाले केन्द्रीय समितिको बैठक चलिरहँदा पार्टी भित्रको अन्तरसंघर्ष उत्कर्षमा छ । यसमा अध्यक्ष केपी ओली पक्ष र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्ष खुलेरै देखिएका छन् ।

वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, नेताहरु सुरेन्द्र पाण्डेलगायत भण्डारीको पक्षमा खुलेका छन् । 

आज बसेको केन्द्रीय कमिटि बैठकमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले भण्डारीको प्रवक्ता बनेको भन्दै नेताहरुलाई झपारे । 

‘मैले विद्याजीलाई हिजो भेटेँ,’ बैठक १ घण्टा ४ मिनेट बोलेका उनले भने, ‘बालुवाटार बोलाएको, पार्टी कार्यलय देखेको छैन भन्नु भयो के ठूलो भयो?’

‘उहाँ पार्टी कार्यालय आउँदा केही असन्तुष्ट र आफै चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए। उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउन पर्छ भनेर अध्यक्षको प्रचार गर्ने? त्यस्तै भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठिक हो। उहाँको प्रवक्ता बनेर कतिपय नेताले मिडियामा अनावश्यक बयानबाजी गर्नु जरूरी छैन। हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ। अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ,’ अध्यक्ष ओलीले चेतावनी दिँदै भने।

त्यस्तै ओलीले पूर्वराष्ट्रपतिको प्रवक्ता बन्न जरुरी नरहेको समेत उल्लेख गरेका छन्। ‘पूर्वराष्ट्रपति र प्रम भेट्दा किन ठूलो कुरा गर्नु पर्छ?’ उनको भनाइ छ, ‘कोही उहाँको प्रवक्ता बन्नु भएको छ, किन पर्‍यो त्यो?’

ओलीले भेटका क्रममा आफैले केही सुझाव दिएको तर त्यसबारे केही जवाफ नपाएको समेत बताए। ‘मैले सुझाव दिएको छु,’ उनले भने, ‘उहाँले के गर्नु हुन्छ, भनिसक्नु भएको छैन।’ 

ओलीले विद्या भण्डारीबारे भने- कोही उहाँको प्रवक्ता बन्नु भएको छ, किन पर्‍यो त्यो? ‘मैले सुझाव दिएको छु, उहाँले के गर्नु हुन्छ भनिसक्नु भएको छैन'

ओलीले आफूलाई पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटका लागि बालुवाटार बोलाएको तर पार्टी कार्यालयमा भेटौँ भनेकाले उतै च्यासलमा भेटेको बताए। 

'भेटका क्रममा सबै कुराहरू खुलस्त भएका छन्। अहिले नेपालको राष्ट्रिय राजनीति कसरी विकास भइरहेको छ, एमाले कसरी निशाना बनिरहेको छ, एमालेलाई विभाजन गर्ने तत्त्वहरू कसरी सलबलाइरहेका छन् भन्नेदेखि लिएर सरकारले गरिरहेको कामहरू, त्यसपछि आएर विधान महाधिवेशनको तयारीका सम्बन्धमा उहाँहरूले एक अर्कामा अत्यन्त खुलस्त ढङ्गले छलफल गर्नुभएको हो। हाम्रा बीचमा धेरै मतभेद केही छैन भन्ने कुराहरू राख्नुभएको छ,' अध्यक्ष ओलीलाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भनेका छन्।

गौतमले भण्डारीको सदस्यताबारे केन्द्रीय समितिले निर्णय गर्ने पनि ओलीले जानकारी गराएको बताए।

प्रस्तावित विधानका बारेमा सदस्यहरूलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइएको र बैठक मंगलबारसम्म चल्ने गौतमले जानकारी दिए।

'अब जहाँसम्म पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनुहुन्छ कि हुन्न भन्नेबारे पार्टी अध्यक्षले अहिले चलिरहेका जति पनि अभ्यासहरू छन्, त्यसका बारेमा स्पष्ट दृष्टिकोण राख्नुभएको छ। र, पार्टी सदस्यताका बारेमा पनि त्यति धेरै विवाद गर्नुपर्ने विषय रहेन। यसबारे अब केन्द्रीय समितिले आवश्यक छलफल गरेर अन्तिम टुङ्गो लगाउँछ भन्ने कुरा छ। खुलस्त ढङ्गले भेट गर्‍यौँ,' उनले भने।

‘वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ’ । विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौ’, गौतमले ओलीको भनाइ उद्धृत गर्दै भने ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा ठूलो कुरा गर्न आवश्यक नरहेको समेत बताए।

आइतबार ओली र विद्याका बीचमा झन्डै दुई वार्ता भएको थियो। उक्त वार्ताबारे ओलीले आजको बैठकमा जानकारी गराएका हुन्।

विधान संशोधनसम्बन्धी प्रस्तावमा ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाइको छ। केन्द्रीय कमिटी बैठकबाट पारित भएपछि विधान संशोधनसम्बन्धी प्रस्तावलाई विधान महाधिवेशनमा प्रस्तुत गरिने एमालेले जनाएको छ। आगामी भदौ २० देखि २२ गते ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर