‘म अघि बढिसकेँ, अब रोकिने कुरै छैन’: विद्या भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा आइसकेकाले अब नरोकिने बताएकी छन् । एमाले केन्द्रीय कमिटीका अधिकांश सदस्यले पूर्वराष्ट्रपति राजनीतिमा आउनै नहुने तर्क गरिरहेका बेला उनले राजनीतिमा आउन नरोकिने बताएकी हुन् ।
‘म अघि बढिसकेँ । अब रोकिने कुरै छैन,’ आफ्नो निवास भंगलामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले सदस्यता नवीकरण गरिसकेकी छु । कुनै जिम्मेवारी मागेकी छैन ।’
एमाले केन्द्रीय कमिटी बैठकमा ३ सय १ केन्द्रीय सदस्यमध्ये एक दर्जनले पूर्वराष्ट्रपति भण्डारीलाई साथ दिएका छन् ।
उनले आफू २०३५/३६ साललेखि विद्यार्थी राजनीति हुँदै ०६२/६३ सालसम्म आन्दोलनमा लाग्दा खुट्टा नकमाएको प्रसंग उल्लेख गर्दै आफ्नो राजनीतिक गति रोक्नुपर्ने कुनै कारण नभएको बताइन् ।
सुरुमा आफू राष्ट्रपति हुन आफ्नो इच्छाले नगएको दाबी गर्दै देश र जनताको सेवा गर्न सकिने निष्कर्ष निकालेरै उक्त पद स्वीकार गरेको पनि उनले सुनाइन् ।
‘मलाई राजनीतिमा आउन पार्टीले रोक्छ भन्ने लागेको छैन,’ उनले केन्द्रीय कमिटीमा आफ्नो पक्षमा बोल्न नदिनु गलत भएको बताउँदै भनिन्, ‘केन्द्रीय कमिटीमा बोल्न नदिएको हो भने त्यो सरासर गलत हो ।’
भण्डारीले आफ्नो सदस्यता विवाद मुख्य विषय नभएको उल्लेख गर्दै यो राजनीतिक विषय भएको पनि बताइन् । ‘मैले पोहर नै सदस्यता नवीकरण गरेकी हुँ । त्यो जिम्मेवार नेतालाई थाहा छ,’ उनले ओली बेखुस हुनुको कारण खुलाउँदै भनिन्, ‘असार १४ मा मैले राजनीतिमा आउने घोषणा गरेपछि अध्यक्ष ओलीले मन पराउनु भएन । त्यसअघि मैले नयाँ वर्षमा लिखित शुभकामना दिएको पनि उहाँलाई मन परेको थिएन ।’
सदस्यता नवीकरण विवादमा ल्याएर आफ्नो अपमान गरिएको पनि उनले बताइन् । ‘मैरो सदस्यता नवीकरण विवादमा ल्याएर अपमान गरिएको छ,’ उनले पार्टीले नै राष्ट्रपति बनाएको बताउँदै भनिन्, ‘राष्ट्रपति हुने बेला पार्टीले मोर्चामा पठाएको हो । सदस्यता सधैंका लागि त्यागेको होइन ।’
विधान मस्यौदामा छलफल भएका बेला आफूलाई रोक्ने गरी विषय ल्याएकाले उनले चित्त दुखाएकी थिइन् । ‘यो बैठक विधान महाधिवेशनका लागि बोलाइएको हो । मेरो विषयमा किन बोलियो ?’ उनको प्रश्न थियो ।
प्रतिकृया दिनुहोस