• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

यी हुन् ओलीले कारबाही गर्ने धम्की दिँदा पनि भण्डारीको पक्षमा खुल्ने नेता

काठमाडौं । नेकपा एमालेले अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउने बाटो छेकेको छ । केन्द्रीय कमिटि बैठकमा विधानमा रहेको ७० वर्षे उमेरहद् हटाएर कालान्तरसम्म केपी ओलीलाई अध्यक्ष मान्ने कि उनलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउने भन्ने बारे बहस भएको थियो । 

भण्डारीले एमालेको अध्यक्ष बनेर राजनीतिमा सक्रिय हुने चाहाना व्यक्त गरेकी थिइन् । तर अध्यक्ष ओलीले भण्डारीलाई रोक्ने मात्रै होईन उनको पक्षमा बोल्नेलाइ पनि कारबाही गर्ने चेतावनी दिएका थिए । अध्यक्षको चेतावनीका बाबजुत केही नेताहरु केन्द्रीय कमिटिमा खुलेर भण्डारीको पक्षमा ओकालत गरे । 

बैठकमा कठोर प्रस्ताव गरेपछि उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए। यी दुई नेतासहित स्थायी कमिटी सदस्य कर्ण थापाले अध्यक्षको निर्णयमा 'नोट अफ डिसेन्ट' लेखेका छन्। यद्यपि ओलीको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन भएको छ।

सोमबार केन्द्रीय कमिटीको बैठकको सुरुमा नै अध्यक्ष ओलीले भण्डारीको प्रवक्ता नबन चेतावनी दिएका थिए । ओलीले भनेका थिए, ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्‍यो त्यो ।’

केन्द्रीय कमिटी बैठक अघि नै अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले इन्चार्जहरु मार्फत ओलीको पक्षमा बोल्न र विद्याको विपक्षमा बोल्न निर्देशन दिएका थिए । ३ गते पोलिटब्युरो बैठक सकिएपछि भोलिपल्ट साउन ४ गते सबै प्रदेशमा इन्चार्जहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर निर्देशन दिइएको थियो ।

इन्चार्जहरूले ४ गते दिउँसो र ५ गते केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि आआफ्ना प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक राखेर ओली पक्ष र भण्डारीको विपक्षमा बोल्न कडा निर्देशन दिएका थिए । एक केन्द्रीय सदस्यका अनुसार कसले कसरी बोल्ने ? कतिबेला बोल्ने ? त्यसको तयारी नै गरिएको थियो ।

पार्टी नेतृत्वबाट चौतर्फी चेतावनी र दबाबकोविच केन्द्रीय सदस्यहरू कैलास ढुङ्गेल, ईन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बास्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, कैलाश ढुंगेल, शिब सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत नेताहरूले आफूलाई भण्डारीको पक्षमा उभ्याएका हुन् ।

केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद नगरी पार्टीमा स्वागत गर्नुपर्ने बताए । न्यौपानेले भण्डारीले सदस्यता त्यागेको विषय प्राविधिक भएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन्।

‘विद्या भण्डारी पार्टीमा लाग्दा यो पार्टी बलियो नै हुन्छ, राष्ट्रपति बनाउने निर्णय यो पार्टीले गरेको हो र उहाँले त्याग्नु भएको सदस्यता भनिएको कुरा प्राविधिक कुरा हो,’ उनले भने, ‘त्यसैले उहाँको पार्टी सदस्यलाई विवादको विषय नबनाइयोस् र उहाँलाई पार्टीमा स्वागत गरियोस्।’

केन्द्रीय सदस्य युवराज बास्कोटाले भण्डारीमाथि भइरहेको टिप्पणी गलत भएको बताए । भन्दा सेनाको परमाधिपति भन्ने तर व्यवहारमा बाटबाटै हिलो छ्याप्ने, तेजोबद गर्दै हिड्ने विषय युक्तिसंगत नभएको उनको भनाई छ ।

उनले भण्डारी राजनीतिमा सक्रिय हुदा कोकोहोलो मच्चाइएको भन्दै रोष प्रकट गरे । उनले बैठकमा प्रश्न गरे, ‘पूर्वराष्ट्रपतिका लागि औसत योग्य मात्र होइन, सुयोग्य ठानेर हामीले नै पठाइएको होइन ? हो भने अहिले उहाँको बारेमा यति विघ्न नराम्रो चर्चा गर्न नहुने थियो कि ? फेरि अहिले नेतृत्व निर्माण र निर्वाचनको बेला पनि होइन, किन यति धेरै कोकोहोलो ?’

उनले एउटा कुनै वडाध्यक्ष पार्टी प्रवेश गर्दा पार्टीमा अगाध खुशी छाउने तर पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषय आलोचना र विरोध हुनु गलत भएको बताए । भने, ‘एउटा कुनै वडाध्यक्ष पार्टी प्रवेश गर्दा हामीमा अगाध खुशी छाएको हुन्छ, राष्ट्रिय समाचार बन्छ, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषय आलोचना, विरोध, निन्दाको शिकार बन्छ ? यो संगतियुक्त र युक्तिसंगत भएन ।’

रामलाल साहले पहिले ओलीका बारेमा पनि अनेक आरोप लगाइएको स्मरण गर्नुपर्ने उल्लेख गरे।‘बिरामी ओली पार्टीमा आए एमाले सकिन्छ भन्नेहरू अहिले विद्या पार्टीमा आए पार्टी सकिन्छ भनिरहेका छन्,’ साहले भने, ‘ पार्टी नेतृत्वले मात्रै होइन, नीतिमा सुस्पष्टता भए विद्याले राम्रोसँग चलाउन सक्नुहुन्छ।’

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शिव सुवेदीले पार्टीमा कमिटी प्रणाली नचलेको भन्दै कमिटी प्रणाली बलियो पार्नुपर्ने प्रस्ताव गरेका थिए। ‘अहिले संगठन चलेन। जताततै केन्द्रीय अध्यक्ष हावी हुनुभयो। उहाँको नाममा रजगज चल्यो,’ उनले भने, ‘यो विषयको निर्मम समीक्षा हुनुपर्छ।’

केन्द्रीय सदस्य कैलाश ढुंगेलले भण्डारीलाई राष्ट्रपति पार्टीले बनाएको उल्लेख गरे। ‘उहाँलाई पार्टीले, केपी शर्मा ओलीले बनाएको हो। हामीले बनाएको हो। उहाँले यसबीच प्राप्त गर्नुभएको ज्ञान र अनुभवलाई हामीले पार्टी निर्माणमा प्रयोग गर्नुपर्छ,’ उनले भने।

लुम्बिनीकै पार्वती रावलले भण्डारी नेपाल कम्युनिस्ट आन्दोलनको सग्लो र सर्वाधिक अग्लो सम्पत्ति भएको दाबी गरिन्। ‘उहाँलाई नजर अन्दाज गरेर होइन, पार्टीले आफ्नो आवश्यकता अनुसार पुँजीकृत गर्नुपर्छ,’ उनले भनिन्।

उषाकिरण तिम्सेनाले पार्टीमा निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने बताइन् । वर्तमान अध्यक्ष केपी शर्मा ओलीले २ कार्यकाल अध्यक्ष चलाएर नेतृत्व गर्ने पर्याप्त अवसर पाएको भन्दै तिम्सेनाले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग गरेकी हुन् ।

बैठकमा मंगलबार भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो। कोअर्डिनेसन केन्द्रदेखिका कमरेडहरू हुनुहुन्छ, आपसी समझदारीमा जो अध्यक्ष भएपनि कमिटी माहतत रहेर पार्टी चल्ने कुराको ग्यारेण्टी अबको विधानले निर्धारण गर्नुपर्छ ।’

धनकुटाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य विनादेवी राईले भण्डारी हिजो पनि एमालेको नेता रहेको र आज पनि नेता नै रहेको भन्दै उनलाई छेक्न नहुने मत प्रकट गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर