• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

प्रचण्डले जनार्दनमाथि 'कारबाही' गर्न लागेका हुन् ?

काठमाडौं । नेपाली राजनीतिमा अहिलेको जस्तो एकै पटक सवै राजनीतिक दलमा विश्रृंखलता र अन्तरपार्टी कलह विगतमा कहिल्यै थिएन भन्दा फरक पर्दैन । संघीय संसदमा रहेका हरेक राजनीतिक दलहरुभित्र उच्च तहको राजनीतिक अन्तरद्वन्द जारी छ ।

जसका कारण नेताहरूबिच एक आपसमा तिब्र आरोप–प्रत्यारोप छ । यस्तो तिब्र आरोप–प्रत्यारोपले नागरिकमा निराशा बढेकाे छ । नागरिकमा विकास भएको यो निराशाले व्यवस्थामाथिनै प्रश्न उठाउनेहरुलाई मलजल पुगेको छ ।

भलै वैकल्पिक व्यवस्थाका लागि सडक आन्दोलन नै गरेका राजावादीहरु भित्र पनि तिब्र अन्तरविरोध छ । एक हिसावले भन्दा पार्टीबाटै निकाल्ने र कारबाहीकाे श्रृंखला ‘कोतपर्व’ नै चलिरहेको छ । 

कांग्रेसमा कलहः 
संघीय संसदको पहिलो ठूलो दल कांग्रेस महाधिवेशनको संघारमा छ । कांग्रेसको आन्तरिक जीवनमा नेतृत्व परिवर्तन हुने, सम्भवत पुस्ता परिवर्तन हुने सम्भावना छ । यो महाधिवेशनलाई आफ्नो अनुकुलतामा पार्नका लागि नेताहरु तिब्र दौडधुप र राजनीतिक बक्तव्यवाजीमा लागेका छ । कांग्रेस सभापति शेरबहादुर देउवा खुलेका छैनन् । तर अबको सभापति हुन महामन्त्री गगन थापा र डा शेखर कोइराला कम्मर कसेर लागेका छन् । देउवापक्षीय नेताहरु सभापतिले नै उनको उत्तराधिकारी घोषणा गरिदिउन भन्नेमा छन् । यो अन्तरसंघर्षको असर समग्र नेपाली राजनीतिमा परिरहेको छ । 

अहिलेकाे सत्ता गठबन्धन र एमालेसँगकाे सहकार्यलाइ लिएर पनि कांग्रेसभित्र मत भिन्नता छ । देउवा पक्षीय नेता गठबन्धनकाे निरन्तरताकाे पक्षमा छन् । शेखर पक्ष याे सरकार र गठबन्धनकाे उपादेयता सकिएकाे निचाेडमा पुगेका छन् । गगन थापा पक्षा बिचमा बसेर राजनीतिक फाइदा जे बाेल्दा हुन्छ, त्यही गरिरहेकाे छ ।

एमालेमा उग्रताः 
संघीय संसदको दोस्रो ठुलो दल हो नेकपा एमाले । एमालेकै नेतृत्वमा अहिलेको सरकार चलिरहेको छ । अध्यक्ष केपी ओली प्रधानमन्त्री छन् । केही समयअघि सम्म शान्त तलाउ जस्तो देखिएको एमालेमा यतिबेला एकाएक छालहरु आएका छन् । तरंग सृजना भइरहेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गर्दै आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने घोषणा गरिन् । जुन कुरा अध्यक्ष ओलीको अपेक्षाको ठीक विपरित थियो । ओली आफैं दोहोरिनका लागि विधानमा रहेको ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा धेरै अध्यक्ष बन्न नपाउने प्रावधान हटाइरहेका थिए । गएराति सकिएकाे केन्द्रीय कमिटि बैठकबाट उनले हटाए पनि । तर यी प्रावधान राख्नुपर्ने भण्डारी पक्षको तर्क र राजनीतिमा भण्डारी फर्कन नहुने ओलीपक्षको अडान र उग्रताका कारण एमाले यतिबेला चर्को शक्ति संघर्षमा छ । कतिपय राजनीतिक विज्ञहरूले भण्डारीकाे बाटाे छेक्ने अेालीकाे याे उग्रताले एमाले ठूलै रडाकाे निम्तिन सक्ने अनुमान गर्दछन् ।

माओवादीमा मन्द विद्रोहः
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र विद्रोहको पृष्ठभूमि भएको दल हो । कम्युनिष्ट पार्टीमा, अझ विद्रोहकालिन संगठनात्मक बुझाइभएको पार्टीमा फलामे अनुशासनको चर्चा गर्ने गरिन्छ । आन्तरिक जनवादको प्रयोग गर्ने तर कामकारबाहीमा एकरुपता हुनुपर्छ भनिन्छ । नेतृत्वको सम्मान मात्रै हैन संरक्षण पनि गर्नुपर्छ भनिन्छ । तर अहिले ठीक उल्टो भइरहेको छ । कुनै बेला पार्टी भित्रै बसेर मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, देव गुरुङ र नेत्रविक्रम चन्दहरुले अध्यक्ष प्रचण्डलाई चर्को आरोप लगाउँथे । संसदीय भासमा जाकिएकाे बुर्जुवा संशाेधनबादमा फसेर क्रान्तिकारी धार भुत्ते भएकाे बताउने गर्दथे । अन्ततः उनीहरुले पार्टी नै फुटाएर गए । फुटेर गएकाहरुको हालत कस्तो छ ? भन्ने कुरा अहिले सतहमै देखिएको छ । 

त्यसपछि डा. बाबुराम भट्टराईले प्रचण्डबाट अब नेतृत्व सम्भव नभएको भन्दै विकल्पमा आफूलाई अघि सार्न खोजे । प्रचण्डमाथि बुढीगण्डकी जलविद्युत परियाेजना, तथा क्यान्टाेनमेन्टकाे पैसा अनियमितता गरेकाे गम्भिर आराेप लगाए । उनको नेतृत्व क्षमता र माओवादी संगठनभित्र उनको पकड निक्कै कमजोर भएका कारण प्रचण्डले उनलाई ढिम्कन पनि दिएनन् । बरु उनी विरक्तिएर पार्टीबाट बाहिरिए, नयाँ–नयाँ पाटी बनाउँदै हिँडे, तर शक्तिको रुपमा उदाउन सकेनन् । उनका पीएले समेत उनको पार्टी छोडेपछि अहिले उनको हालत पनि सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गर्नमा सिमित भएको छ । 

अहिले फेरि माओवादी भित्रै प्रचण्डको विकल्पमा आफूलाई अघि सार्दै आइरहेका छन्, उपमहासचिव जनार्दन शर्मा । शर्मा भाषणहरुमा नेतृत्व परिवर्तन, हस्तान्तर र पुस्ता हस्तान्तर त्यो पनि तेस्रो पुस्तामा जानुपर्ने कुरा गरिरहेका छन् । उनको अन्तर्यमा भने आफैं माओवादीको मूल नेतृत्व हत्याउने महत्वकाँक्षबाट निर्देशित छ । भलै त्यो मैदान अहिलेनै तयार भएको देखिएको छैन । शर्माको प्रस्तुती भने अहिले प्रचण्डकै विरुद्ध कडा अभिव्यक्ति र कटु आलोचना गर्नेमा केन्द्रीत छ । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दिएको अभिव्यक्तिले त्यही कुराको पुष्टि गर्दछ । शर्माले मनमोहन अधिकारी बाहेक हरेक कम्युनिष्ट प्रधानमन्त्री भ्रष्ट भएको सार्वजनिक टिप्पणी गरे । यसको सिधा अर्थ थियो प्रचण्डले पनि विचौलियाको काम गरे । भ्रष्टाचार गरे । जनताको काम गरेनन् । नेताहरुले अकुत कमाए । पार्टीमा सम्पत्ति छानविन गरौं भन्दा मानेनन् । ९ पटक माओवादी सरकारमा गयो तर देखिने काम केही गरेन । 

शर्माले भनेका थिए, 'यदि मुख्य नेतृत्व भ्रष्टाचार नगर्ने भयाे भने ६० प्रतिशत भ्रष्टाचार त्यतिकै घट्छ, प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । मैले भने, हाम्राे सम्पति छानविन गराैं पारदर्शीता र सुशासन हामी भित्रबाट हुनुपर्छ, तर नारा सुशासन दिने, दुःखका साथ भन्नु पर्छ मनमोहन अधिकारी बाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।'

भलै उनको टिप्पणीकामाथि युवा नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जालमार्फत प्रतिटिप्पणी गरे । जसले राजनीतिकै बला अकुत कमायो उसैले छानविनको कुरा गर्नु बेइमानी हुने उनको तर्क थियो । 'राजनीतिमा लागेर जसले अकुत सम्पत्ति थुपारेको छ, उसैले सम्पत्ति छानबिनको माग गर्नु जस्तो बेइमानी अरु के होला ?,' न्यौपानेले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

प्रचण्डमाथि आफ्नै उपमहासचिवले यस्तो संगिन आरोप लगाएपछि माओवादी हेडक्वाटरमा यतिबेला बेग्लै कम्पन सृजना भएको छ ।

केहीसमय अघि मात्रै एक संचार माध्यममा उपमहासचिव शर्माले प्रचण्डले आफूलाई पटक पटक पार्टी छोडेर जान भनेको दावी गरेका थिए । जसलाई अध्यक्ष प्रचण्डले भने दिक्क मान्दै कहिल्यै पनि पार्टी छोड्न नभनेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । दुई नेताको यो सार्वजनिक अभिव्यक्तिले पनि उनीहरुबिचको दुरी अनुमान गर्न सकिन्थ्यो ।

कतिपय नेताहरुले अव जनार्दनमाथि कारबाही गर्नुपर्ने तर्क गरेका छन् । यस अघि संसदबाटै बोल्दा पनि शर्माले प्रचण्डमाथि आरोपित गरेका थिए । पार्टीका आन्तरिक फोरमहरुमा शर्माले प्रचण्डबाट अब पार्टी नचल्ने भएकाले उनलाई बिदा गर्नुपर्ने बताउने गरेका छन् । शर्माकाे यो यो तरिका अन्ततः विगतमा बैद्य, विप्लब वा बाबुरामले देखाउने गरेको व्यवहारकै अर्को रुप भएको र यसलाई बेलैमा सम्बोधन गर्नुपर्ने निचाेडमा प्रचण्ड र प्रचण्ड निकटस्थहरु पुगेका छन् । 

तर कतिपय नेताहरुले भने प्रचण्डले कारबाहीकाे डण्डा नचलाउने बताउँछन् । विगतमा वैद्य,बाबुराम र बिप्लबहरुले प्रचण्डका विरुद्धमा अभियानै चलाउदा पनि प्रचण्डले सहेर बसेकाे उनीहरुकाे तर्क छ।

समाचार दैनिकसँगको छोटो सम्बादमा उपमहासचिव हरिबोल गजुरेलले शर्माको यस्तो अभिव्यक्ति पहिलो पटक नआएको बताए । 'विगतमा संसदमा पनि उहाँले बोल्नुभएको हो,' उनले भने, तर यसलाई कसरी लिने भन्ने छलफलको विषय बनाउनु पर्दंछ ।'
गजुरेलले यही विषयलाई मात्रै आधारमानेर अहिलेनै कारबाही भइहाल्ने अवस्था नरहेपनि शर्माको शैली गलत भएको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड निकट स्रोत भन्छ, शर्माको यही रवैया रहने हो भने पार्टीले उनलाई छिट्टै स्पियष्टीकरण सोध्ने र आवश्यक कारबाही अघि बढाउन सक्छ । 

त्यसले कस्तो अवस्था सृजना गर्दछ भन्ने कुरा अहिले अनुमान भन्दा बाहिरको कुरा बनेको छ । शर्माले आफू निकटस्थहरुसँग भने आफूले यो पार्टी कहिल्यै नछोड्ने बरु यसको नेतृत्व लिने बताउने गरेका छन् । केही दिनअघि मात्रै उनीसँग भेटेका उनी पक्षधर एक नेताले भने, ‘यो पार्टी बनाउन मेरा पनि उत्तिकै भूमिका र योगदान छ, म किन छोड्नु, छोड्दिन । तर प्रचण्डलाई यति सजिलै खानपनि दिन्न ।’

संसदमा रहेका दलहरु एकीकृत समाजवादी, राप्रपा, नाउपा, जनमत पार्टी र रास्वपा भित्र पनि यतिबेला अन्तरकलह चुलिरहेको छ । त्यसैले सुरुमा नै अहिलेजस्तो राजनीतिक विश्रृंलखलता दलहरूमा विगतमा कहिल्यै थिएन भन्न खोजिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर