• २०८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025

रेशमकी श्रीमती रञ्जिता सरकारी जग्गा हडप्ने विचौलियाः के होला सांसद पद ?

काठमाडौं । कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हडप्ने प्रपञ्चमा पूर्वभूमि व्यवस्थामन्त्री एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि ‘बिचौलिया’ भूमिकामा संलग्न रहेको पाइएको छ ।

तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामाबीच भएको घूस ‘डिल’ प्रकरणमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा सांसदसमेत रहेकी श्रेष्ठको पनि संलग्नता देखिएको हो ।

मालपोत कार्यालय र भूमि समस्या समाधान आयोग प्रमुखमा अनुकूलका व्यक्तिलाई पदस्थापन गराएर लिची बगानको जग्गा हडप्ने प्रपञ्च रचेको गिरोहका लामाले तत्कालीन संघीय मामिलामन्त्री गुप्तासँग गरेको घूस ‘डिल’ को अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।

घूस प्रकरणमा मुछिएपछि गुप्ताले ३१ असारमा मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । अख्तियारमा भने तीन साताअघि नै उजुरी परेको थियो । यस प्रकरणमा अहिले विस्तृत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

पूर्वमन्त्री गुप्ता र उनीसँग घूस ‘डिल’ गर्ने लामासँग अख्तियारले मंगलबार बयान थालेको छ । दुवै जनाको आवाज पनि परीक्षणका लागि ‘रेकर्ड’ गराइएको अख्तियारले जनाएको छ । ‘केही दिनअघि सार्वजनिक भएको अडियो परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका थियौं । त्यहाँ सक्कली भएको पुष्टि भयो,’ अख्तियारका एक अधिकारीले भने, ‘अडियो दोहोरो परीक्षण गर्न आज (मंगलबार) गुप्ता र लामाको आवाज रेकर्ड गराएका हौं ।’ पूर्वमन्त्री श्रेष्ठलाई पनि अडियोमा सुनिएको आवाजसँग मेल खान्छ/खाँदैन भनेर दोहोरो परीक्षणका लागि बोलाइने ती अधिकारीले बताए ।

राणाकालमा बिर्ताबापत भएर दुर्गादेवी शाह र लोकदिव्येश्वरी शाहका नाममा रहेको १ सय ३४ रोपनी जग्गा २०१६ सालमा बिर्ता उन्मूलन भएपछि व्यक्तिका नाममा दर्ता गरिएको थिएन । पञ्चायतकालयता उक्त जग्गा व्यक्तिका नाममा दर्ता नभई त्यत्तिकै रहेको थियो ।

साबिकका भोगाधिकारी दुर्गादेवी र लोकदिव्येश्वरीको निधन भइसकेको छ । केही वर्षयता त्यही जग्गा दुर्गादेवीका चार नाति सुरज ठकुरी, सुनील ठकुरी, भीमसेन ठकुरी र ओमबहादुर ठकुरीका नाममा दर्ता गर्ने र ३३ प्रतिशत साबिकका भोगाधिकारीका हकवालालाई दिएर बाँकी जग्गा बिचौलियाले खाने–मास्ने योजना गिरोहले बनाएको खुलिसकेको छ । यस प्रपञ्चमा पूर्वमन्त्री गुप्ता, श्रेष्ठका साथै हालका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वसचिव अर्जुन पोखरेल र बिचौलिया लामा पनि मुछिएका छन् ।

यस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारी र पूर्वसचिव पोखरेललाई घूस बुझाएको दाबीसहितको अडियो पनि सार्वजनिक भइसकेको छ ।

‘उपलब्ध तथ्य र प्रमाण तथा प्रयोगशालाबाट पुष्टि भएको अडियोले जग्गा हिनामिना गर्ने प्रपञ्च र घूस लेनदेनमा पूर्वमन्त्री श्रेष्ठ र सुजन लामा बिचौलियाको भूमिकामा देखिन्छन्, यो प्रकरणमा जोडिन आएका अरू व्यक्ति राज्य संयन्त्र दुरुपयोग गरी गिरोहको योजनाअनुसार निर्णय गराउन दत्तचित्त भएको देखिन्छ,’ अख्तियारका एक अधिकारीले भने, ‘तर योजनाअनुसार काम अघि नबढ्दै सेटिङ भत्किएपछि अहिलेसम्म भए/गरेका सबै चलखेल सतहमा आइपुगेका हुन् । यसले राज्यका उपल्लो तहमा बसेकाहरू कुन रूपमा दुरुपयोग हुन्छन् भन्ने पनि उजागर गरेको छ ।’

घूस प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री अधिकारी पदमै छन् । अधिकारी र पूर्वमन्त्री गुप्ता एमाले सांसद हुन् । श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधित्व गर्दै १७ चैत २०७९ देखि २१ फागुन २०८० सम्म भूमि व्यवस्थामन्त्री थिइन् । श्रेष्ठपछि अधिकारी २३ फागुन २०८० यता भूमि व्यवस्थामन्त्री छन् ।

अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठले आफू मन्त्री रहेकै बेला जग्गा हडप्ने योजना बुने पनि सफल नभएको र पछिल्लो पटक भूमि व्यवस्थामन्त्री बनेका अधिकारी र संघीय मामिलामन्त्री गुप्तासम्म बिचौलिया लामाको पहुँच विस्तार गराई आफू पनि यस खेलमा संलग्न रहेको भेटिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर