विधिपूर्वक सदस्यता नवीकरण गरेकाे थिएँ, हटाउनु असंवैधानिक छः विद्या भण्डारी (भिडियाे)

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको बताएकी छन्। उनले अहिले पनि आफू नेकपा एमालेमै रहेकाे दावी गरिन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरेरै आफूले पार्टी राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन्।
उनले भनिन्, ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ। मैले सार्वजनिक नगरेकै समयमा सदस्यता नवीकरणका बारेमा सञ्चारमाध्यमले बाहिर ल्यायो। चुपचाप उपयुक्त हुँदैनथ्यो। नेकपा एमालेमा आवद्ध भएर अघि बढ्नु नै थियो यसैलाई मध्यनजर गर्दै मैले मदन भण्डारीको ७४ औं जन्यन्तीको कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरे भनेर एमालेमा आवद्ध भएर राजनीति अघि बढाउने संकल्प गरेको थिएँ।’
'पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन,' उनले भनिन् । एमालेले पार्टी राजनीतिमा फर्कन नदिने भए पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक अभियानलाई अगाडि बढाउने भएकी छन् ।
एमालेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो सदस्यताबारे छलफल भएको सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताएकी छिन् ।
‘हुलहुज्जत र उत्तेजनामा आएर मेरो सदस्यता खारेज गर्न मिल्दैन । पार्टी प्रणालीमा चल्छ । कसलाई के गर्न मन लाग्छ त्यो अलग विषय हो’, भण्डारीको भनाइ छ ।
‘राजनीतिमा फर्किनका लागि योजना बनाएर पार्टीको सदस्यता विधि पूर्वक रूपमा सदस्यता नवीकरण गरेको हुँ,’ भण्डारीले भनिन्, ‘यसैले असार १४ गते मैले राजनीतिमा फर्किएको घोषणा गरेका हुँ ।’
अघिल्लो दिन अध्यक्ष केपी शर्मा ओलीसँग सौहाद्रपूर्ण छलफल भएको पनि उनले बताएकी छिन् । जिम्मेवारीको विषयमा पनि पार्टीका नेतासँग पटक-पटक कुरा भएको उनको भनाइ छ ।
गत मंगलबार मध्यरात सकिएको एमाले केन्द्रीय कमिटीको बैठकले उनको राजनीतिक पुनरागमनलाई रोक लगाउने निर्णय गरेको थियो।
असार १४ गते ७४ औं मदनजयन्तीका दिन सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीको यात्रामा बिराम लगाउने गरी एमालेले निर्णय गरेपछि अब के गर्ने भनेर बताउन उनले पत्रकार सम्मेलन गरेकी हुन्।
पत्रकार सम्मेलनमा उनले आफूनिकट नेता–कार्यकर्ताहरूलाई पनि बोलाएकी छिन्।
एमाले केन्द्रीय कमिटीको निर्णयलाई उनले राजनीतिक एवम् कानुनी प्रतिवादको तयारी गरेकी छन्। र, विभिन्न विकल्पबारे परामर्श गरिरहेको उनीनिकट नेताहरूले जानकारी दिएका छन्।
'अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी-सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन' उनले भनिन्।
'पार्टीको आफ्नो प्रक्रिया हुन्छ। हाम्रो पार्टी प्रणालीमा चल्छ। कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन,' उनले भनिन्, '३४ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ। पार्टीले निर्णय गरेर पठाएको हो। अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु। समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो। पार्टीको आन्तरिक कुराहरू हुन्छन्। त्यहाँ कुरा होला।'
प्रतिकृया दिनुहोस