काठमाडौं महानगरभित्र सार्वजनिक स्थलमा धुम्रपान निषेध: ५ सय जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलहरूमा धुम्रपान गर्न रोक लगाउँदै धुम्रपान गरेको पाइए जरिवाना तिराउने भएको छ ।
सार्वजनिक स्थलहरुमा धुम्रपान गर्नेको संख्या अत्यधिक रहेको पाइएपछि महानगरले निषेध गर्दै गरिवाना तिराउने निर्णय गरेको हो । चालु आर्थिक वर्षको आर्थिक विधेयक पारित गर्दै महानगरले धुम्रपान गरेको पाइए हरेक पटक पाँच सय रुपैयाँका दरले गरिवाना तिराउने भएको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले निजी सम्पत्ति बाहेकका अन्य सम्पूर्ण स्थलमा धुम्रपान निषेध गरिएको जानकारी दिए ।
यस्तै महानगरले जथाभावी पार्किङ नियन्त्रणका लागि भन्दै तोकिएको स्थानमा बाहेक सवारीसाधन पार्किङ गरे सबै किसिमका मोटरसाईकल र स्कुटरलाई एक हजार जरिवाना तिराउने निर्णय पनि गरेको छ । यस्तै चारपांग्रे सवारी साधनलाई २ हजार ५ सय रुपैयाँ जरिवाना हुने नगर प्रहरी प्रमुख पाण्डेले बताए । मझौला सवारी साधन मिनीबस, मिनीट्रकलाई ३ हजार ५ सय र ठूला सवारी साधन बस, ट्रकलाई पाँच हजार जरिवाना तिराउने निर्णय पनि महानगरले गरेको छ ।
प्रतिबन्ध लगाइएको विज्ञापन गरेमा १० हजार, विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने जानकारी दिँदै नगर प्रहरी प्रमुख पाण्डेले पर्चा, पम्प्लेट, पोस्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार सामग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको जानकारी दिए ।
यस्तै महानगरले खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन गरे अथवा स्वीकृति नलिई बेलुनमा विज्ञापन गरे ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने भएको छ । सार्वजनिक स्थलमा गेट तथा स्वागत द्वार निर्माण गरे पनि महानगरले ५० हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्याए पनि महानगरले अब पचास हजारसम्म जरिवाना तिराउने निर्णय भएको नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
प्रतिकृया दिनुहोस