• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

जनार्दनकाे पक्षमा उभिँदै सुदन किरातीले अघि सारे ४ तर्क

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उपमहासचिव जनार्दन शर्माले केही गम्भिर आराेप लगाएपछि साे विषयले अहिले तरंग सृजना गरिरहेकाे छ । शर्माकाे विचारकाे पक्ष र विपक्षमा नेता कार्यकर्ता सामाजिक सञ्जालमै लेख्न थालेका छन् । त्यसैमा थपिएका छन् शर्मा पक्षीय भनेर चिनिएका पूर्वमन्त्री भाेजपुरका युवा नेता सुदन किराती । 

किरातीले आज बिहान फेसबुकमा स्टाटस लेख्दै केन्द्रीय समितिको निर्णय भन्दै कार्यान्वयनका लागि ४ सर्त दृढतापूर्वक लागू गर्न आव्हान गरेका छन् । 

सुदनले अघि सारेका तर्क यस्ता छन्-

१. पार्टी बलियो बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको अभियानलाई तीव्र बनाऊँ ।

२. शहीदको सपना पूरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।

३. प्रश्न गर्नेहरूलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृत्तिविरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।

४. नेतृत्वको विचार र योगदानलाई जुग-जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिलाई निषेध गरौँ ।

उपमहासचिव शर्माले एक कार्यक्रममा पार्टीमा निरंकूशता र व्यक्तिवादी हाबी भएको बताएका थिए । माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको उनको भनाइ थियो । शर्माले मनमाेहन अधिकारीपछिका नेपालका हरेक प्रधानमन्त्रीहरूले भ्रष्टाचार गरेकाे भन्दै प्रचण्डमाथि पनि तिर साेझ्याएका थिए ।

त्यसको भोलिपल्टै प्रचण्डले जनवादकाे अभ्यासमा पार्टीभित्र समस्या नभएकाे र प्रशस्त सिँगौरी खेल्न ठाउँ दिएको भन्दै आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए ।

शनिबार अर्काे एक कार्यक्रममा प्रचण्डले पार्टी र नेतृत्वविरूद्ध याेजनाबद्द रूपमा हमला सुरू भएकाे टिप्पणी गरेका थिए । त्यस्ताे हमलामा पार्टीकै नेता प्रयाेग भएकाे टिप्पणी प्रचण्डकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर