खेती किसानी गरिरहेकी पार्वती बनिन् एनसेल करोडपति 

काठमाडौँ । धादिङ, गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनाअन्तर्गत एक करोड रूपैयाँको बम्पर पुरस्कार जितेकी छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत पुरस्कार हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको भूकम्पमा कान्छो छोरा र घर गुमाएकी कार्कीले विगत आठ वर्षदेखि एनसेलको सिम प्रयोग गर्दै आएकी थिइन् । असार महिनामा रू ९९ को ‘बेसिक रिन्युअल’ प्याक खरिद गर्दै उनले योजनामा सहभागिता जनाएकी थिइन् ।

अन्य ५० जना ग्राहकहरुले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । 

‘जीवनमा धेरै संघर्षपछि यो पुरस्कार जित्दा अत्यन्त खुशी लागेको छ । अब ऋण तिर्ने र नेपालमै श्रीमानसँग मिलेर उद्यम सुरू गर्ने सोच छ’, कार्कीले भनिन् । सामान्य लेखपढ भएकी कार्की खेती किसानी गर्छिन् । “अहिले पनि श्रीमान विदेश जाँदाको र अरु ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ”, उनले सुनाइन् ।

एनसेलको १२ हप्ते योजनामा अन्य ५० जनाले जनही एक लाख रूपैयाँको साप्ताहिक पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो । 

एनसेलकाअनुसार हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण भइसकेको छ भने बाँकी विजेतालाई पनि प्रमाणिकरणपछि पुरस्कृत गरिनेछ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर