• २०८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025

हायु परिवारी काठमाडाैं बस्ने छाेरी सम्पर्कमा

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पानजिक भण्डास विप्पर कटेरीको हायू परिवारकी एक सदस्य प्रहरीको सम्पर्कमा आएकी छिन् । ५२ वर्षीया उर्मिला हायूकी छोरी सुजाता हायू सम्पर्कमा आएकी हुन् । 

यसअघि हराएको सूचीमा रहेकी माइली छोरी सुजाता र ज्वाइँ आयुष श्रेष्ठ प्रहरीको सम्पर्कमा आएका हुन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार सुजाता र आयुष केही महिनादेखि काठमाडौंमा बस्दै आएका थिए ।

‘छोरी र ज्वाइँले आफूहरू केही महिनादेखि काडमाडौंमा बस्दै आएको भनेका छन्,’ डीएसपी स्वुेदीले भने,‘सुजाताले पनि परिवारसँग सम्पर्क हुन नसकेको बताएकी छिन् ।’ उनीहरूले परिवारका सदस्य खोजिदिन प्रहरीसँग आग्रह गरेका छन् ।

उर्मिलासहित परिवारका १५ जना ४ दिनदेखि सम्पर्कविहीन छन् । एकलासमा रहेको घरमा सोमबार प्रहरीसहितको टोली पुग्दा कोही भेटिनन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हराएकाहरूमा उर्मिलासहित उनका ६ छोरा, ५ छोरी, १ बुहारी, १ नाति र १ जना ज्वाइँ रहेका छन् । उर्मिलाका श्रीमान् साने हायूको २ वर्षअघि निधन भएको थियो । उनको शव समेत जंगलमा कंकाल मात्र भेटिएको थियो ।

स्थानीय मोतिराज सापकोटाका अनुसार ४ दिनअघि बिहीबार आफ्नै घरको सुँगुर काटेर पारिवारिक भोजन गरेका थिए । १५ मिनेटको दूरीमा रहेका छिमेकीले पनि गोठमा रहेको पाडी भोकले कराएपछि मात्रै खोजविन गरेका थिए । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली, वडाध्यक्ष श्रेष्ठसहित घरमै पुगेर खोजतलास गर्दा कोही नभेटिएको जनाएका छन् ।

वडाध्यक्ष रविन श्रेष्ठका अनुसार हायू परिवारको भान्साघर जलेको अवस्थामा भने भाँडाकुँडा अस्तव्यस्त छन् । खोरमा पाँच वटा बाख्रा समेत भोकै अवस्थामा रहेका र कुकुर रोइरहेको अवस्थामा भेटिएको छ । ‘कहाँ गए, कता गए अत्तोपत्तो छैन,’ श्रेष्ठले भने, ‘सम्पर्क गर्ने प्रयास जारी छ ।’

सामाजिक सुरक्षा भत्ता लिँदा वडा तथा पालिकामा राखिएको फोन नम्बरमा सम्पर्क गरे पनि सबै वन्द अवस्थामा छ  । सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले सम्पर्कविहीन हायू परिवारको मोबाइल लोकेसनका आधारमा रामेछाप मन्थलीतिर खोजी भइरहेको बताए ।

परिवारै रहस्यमयी तरिकाले सम्पर्कविहीन भएको छिमेकीहरूको भनाइ छ । घरपारि रहेको गोठमा पाडीलाई घाँस र कुँडो दिन गइरहने हायू परिवारलाई नदेखेपछि छिमेकी उनीहरूको घरमा पुगेका थिए । त्यसपछि छिमेकीले नै जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर