सम्पर्कविहिन हायु परिवारका १६ जना पोखरामा भेटिए

काठमाडौं । चार दिनदेखि सिन्धुलीबाट सम्पर्कविहिन भएका हायु परिवारका १६ जना पोखरामा घुम्न गएको पाईएका छ । कास्की प्रहरीले उनीहरुलाई पोखरा गगनगौडामा फेला पारेको बताएको छ ।
विदेश गएका छोरा पनि आएको र सामाजिक सुरक्षा भत्ता पनि पाएको मौका पारेर उनीहरु सपरिवार पोखरा घुम्न गएको अनुमान गरिएको छ ।
सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ बागेश्वरका हायु परिवार चार दिनदेखि वेपत्ता भएपछि प्रहरीले खाेजविन गरेकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले उनीहरु गगन गौँडामा रहेको जानकारी आएको बताए।
पोखरा महानगरपालिका वडा नं ३० का चन्द्र भण्डारीको घरमा चारजना र सोमनाथ पौडेलको घरमा बाँकी १२ जना रहेका प्रहरीले जनाएको छ।
बेपत्ता हुनेमा उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, एक बुहारी, एक नातिनी र एक जना ज्वाइँ रहेका थिए । उर्मिलासहित उनका छोराहरू राजु हायु, हिमाल हायु, लालबहादुर हायु, डेगबहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु पनि सम्पर्कविहिन थिए ।
यस्तै छोरीहरू कमला हायु, सुधा हायु, सुजता हायु, उषा हायु, अस्मिता हायु र कोमला हायु छन् । बुहारी, नातिनी र ज्वाइँको भने नाम खुलेकाे थिएन ।
प्रतिकृया दिनुहोस