जनार्दनको अर्को प्रहारः हेडक्वाटरले नै पार्टी विभाजन गर्न लागेकाे हल्ला चलायाे

काठमाडौं । माओवादी उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टीभित्र छुट्टै गुट चलाएको, पार्टी विभाजनका लागि तयारी गरेको आरोप हेडक्वार्टरले लगाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा चार बुँदे भनाइ सार्वजनिक गरी विशेष महाधिवेशनबाट पार्टी पुनर्गठनको प्रस्ताव गरेका छन् ।
‘दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डाकेन्द्रित बहस गरौँ । जसले पार्टीको पुनर्गठन,सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ ।’
उनले जेठमा भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे पार्टीले साख गिरेको समेत बताएका छन् ।
‘हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बुँदे सहमतिपश्चात् गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डाकेन्द्रित बहसमा केन्द्रित होऔं,’ उनको भनाइ छ ।
शर्माले माओवादीमा वैचारिक अस्पष्टता, राजनीति अन्यौलता भएकाले पार्टी पुनर्गठन गर्नुपर्ने माग समेत गरेका छन् ।
‘विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधिविहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने छ,’ उनले भने ।
उनले पार्टी पुनर्गठनले मुलुकलाई संकट समाधान गर्न संविधान संशोधनको प्रस्तावसमेत गरेका छन् । ‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन,अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो,’ उनले भनेका छन्, ‘अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ । यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ ।’
उनले देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका विषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने दाबी समेत गरेका छन् ।
पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमा आलोचना गरेपछि माओवादी केन्द्रभित्रको अन्तरद्वन्द्व सतहमा आएको हो । अध्यक्ष प्रचण्ड र शर्माबीच सार्वजनिक मञ्चबाटै आरोप प्रत्यारोप चलिरहेको छ । शर्माले प्रचण्डमाथि भ्रष्ट र जनवादकाे अभ्यास गर्न निदएकाे संगिन आरोप लगाएका छन् ।
शर्माले प्रचण्डमाथि लगाएकाे आरोपबारे पार्टी स्थायी समितिमा कुरा उठाउने उपमहासचिव हरिबाेल गजुरेलले बताएका छन् ।
शर्माका चार बुंदाः
ने.क.पा. (माओवादी केन्द्र) पार्टीबारे उठेको भ्रम र तथ्यहरुलाई गहिरो गरी बुझ्न आग्रह गर्दछु।
१. बिगत दुई वर्षदेखि माथिल्नो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरुप्रति सचेत हुन आग्रह गर्दछु।
२. गत वर्ष सबै प्रदेशहरुमा भएको परामर्श बैठक पश्चात केन्द्रिय समितिको बैठकमा भएको बहश र निर्णय अनुसार आषाढ देखि प्रारम्भ गरेर ६ महिना भित्र अर्थात मंसिरमा विषेश महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहश गरौ। जसले पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्नेछ।
३. पार्टी केन्द्रको निर्णय अनुसार हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको उर्जालाई २ बुदे सहमति पश्चात् गिरेको पार्टीको साखलाई पुन माथि उठाउन गम्भीर आत्मसमिक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हौ।
४. यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरु गम्भीर संकटबाट गुज्रिरहेका छन। यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनरसंरचना र पार्टीको पुनर्गठन नै हो।
अर्थतन्त्रको पुनसंरचनाले, संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थतन्त्रलाई नीतिगत व्यवस्थामा रूपान्तरण गर्दै, उत्पादन, वितरण तथा समावेशी विकासका नयाँ मानकहरू स्थापित गर्न मद्दत गर्दछ। यसले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याउनेछ। आर्थिक उत्पादन र रोजगारीलाई सामाजिक तथा सांस्कृतिक रूपान्तरणको माध्यमबाट आत्मनिर्भर र सामाजिक न्याययुक्त समाजको जग खडा गर्न मद्दत पुग्दछ।
देशमा बढ्दै गएको कुशासन, कानुन निर्माणमा देखिएका चलखेल, भ्रष्टाचारको बेलगाम वृद्धि, जनसरोकारका बिषयहरुप्रति बेवास्ताले उत्पन्न निराशालाई चिर्न समस्याको पहिचान र समाधान दिने छ। संविधान संशोधनले, शासकीय स्वरुप, चुनाव प्रणाली, पहिचान र आर्थिक क्षेत्रको पुनर्संरचना आदि एजेन्डाहरुबाट राष्ट्रलाई एकताबद्ध गर्नेछ।
विशेष महाधिबेशनले पार्टी भित्रको बैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधि बिहिनता, सहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्नेछ।
प्रतिकृया दिनुहोस