• २०८२ श्रावण १७ शनिबार
  • Saturday, 2 August, 2025

माओवादी स्थायी समितिमा प्रचण्डले भनेः जनार्दनकाे विधि र अभिव्यक्ति दुवै गलत 

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विधि र पद्धतिभन्दा बाहिर गएर उपमहासचिव जनार्दन शर्माले धारणा राख्नु गलत भएको बताएका छन् । स्थायी समिति बैठकको सुरु गर्दै उनले उपमहासचिव जनार्दन शर्माले उठाएका प्रश्न सन्दर्भमा कम्युनिस्ट पार्टीमा संसदवादी दलको जस्तो सार्वजनिक रूपमा बोल्ने छुट नभएको बताएका हुन् ।

उनले पार्टीभित्र जनवादी केन्द्रीयतालाई कडाइपूर्वक लागू गरी आन्तरिक पार्टी एकतामा जोड दिनुपर्ने बताए । नेताहरूले महाधिवेशनमा आफ्ना फरक धारणा राख्नुपर्ने भए पनि सार्वजनिक रूपमा पार्टी र नेतृत्वको आलोचना गर्नु गलत भएको बताए ।

माओवादी केन्द्रले पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको बताएको छ। तर पूर्वमाओवादी भए पनि डा बाबुराम भट्टराई नेतृत्वको दलसँग भने एकताको कुनै तयारी र छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता सापकोटाले समाजवादी मोर्चाका दलसँग एकता छलफल सकारात्मक रहेको बताएका हुन्। 

'हामी अहिले माओवादी धाराका सबै घटकसँग प्रयास गर्दैछौँ,' बाबुराम भट्टराईसँग के हुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, 'डा बाबुराम भट्टराई कम्युनिस्ट काम छैन भनेर नयाँ शक्तिमा जानु भएकोले उहाँसँग पार्टी एकता गर्ने कुनै चर्चा छैन।'

त्यस्तै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल र नेकपा एकीकृत समाजवादीसँगको छलफल भने सकारात्मक रहेको बताए।  

'तत्कालै एकता हुन पनि सक्छ। केही समय पनि लाग्छ। तर अहिले विगतमा भन्दा घनिभूत छलफल भइरहेको छ। विगतमा भन्दा अध्यक्ष बढी आशावादी हुनुहुन्छ। मलाई पनि त्यो वस्तुवादी नै कुरा छ भन्ने लागेको छ,' नेकपा एकीकृत समाजवादीसँगको एकताबारे उनले भने, 'झलनाथजीको कुरा छ उहाँ त्यहाँको एउटा नेता हो। पार्टीको संस्थागत निर्णय गर्छ नि। स्थायी कमिटी, पोलिटब्युरोका नेताहरू छन् उहाँहरूले छलफल गर्नुहुन्छ नि। उहाँको आफ्नो भनाइ व्यक्त गर्नुभयो त्यहाँ छलफल होला।' 

यसैबिच माओवादीको स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भदौ १५ गतेबाट सुरु हुने भएको छ ।  अध्यक्ष प्रचण्डले अभियानकाे प्रस्ताव गरेका हुन् ।
माअेावादीकाे मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान भदौ १५ गते सुरु गरेर मसान्तसम्म सम्पन्न गर्ने गरी प्रस्ताव आएको छ । अभियान यस अघि वर्षा लागेकाले पाेखरा पुगेर स्थगित भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर