एमालेका नेतासमेत रहेका चक्रे मिलन थप ७ दिन थुनामा

काठमाडौं । बिहीबार राति प्रहरीको नियन्त्रणमा परेका सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेका नेता चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई जिल्ला प्रहरी परिसरले सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ ।
काठमाडौंको महाराजगन्जको साम्बाला होटल क्षेत्रबाट गुनासोको फोन प्रहरीलाई आएपछि प्रहरीले मिलनसहित ४७ जनालाई पक्राउ गरेको थियो ।
‘प्रहरीको नियमित अप्रेसनअन्तर्गत हामीले हिजो काठमाडौंभरिबाट १०४ जना पक्राउ गरेका थियौं,’ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले भने,‘त्यसमध्ये मिलन समूहका ४७ जना पक्राउ परेका थिए ।’
प्रहरीले आफ्नो मातहतका प्रहरीबाट नियन्त्रणमा लिएका सबैलाई अनुसन्धान गरी आवश्यक व्यक्तिमाथि अदालतबाट म्याद थप गरिएको अधिकारीले बताए । उनका अनुसार चक्रे मिलनको समूहबाट पक्राउ परेका ४७ मध्ये चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतीक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद भएको छ ।
चक्रेले ठूलो समूहमा सडक छेउमा केक काट्दै गरेको, जन्मदिनका अवसरमा पशुपति पुगेर पैसा बाँडेको लगायतका भिडियो अहिले सामाजिक संजालमा भाइरल छन् । चक्रेलाई उनका समूहका सदस्यहरूले सडक नै अवरुद्ध हुने गरेर स्कर्टिङ गरेको भिडियो पनि आएको छ ।
यसअघि ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेपछि कांग्रेस नेता समेत रहेका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका थिए । गुरूङ नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत निकटका हुन । प्रहरीले गुरूङ पक्राउ परेको २४ घण्टामा मिलनको समूहलाई पक्राउ गरेको हो ।
प्रतिकृया दिनुहोस