• २०८२ श्रावण २० मंगलबार
  • Tuesday, 5 August, 2025

जनार्दनले ‘आधा स्वीकारे’ गल्तीः गुटबन्दी गरेमा कारबाही गर्ने निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र आजबाट सम्पन्न स्थायी समिति बैठकले गुटबन्दीको अन्त्य गरेको बताएको छ । बैठकपछि पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले अब पनि कसैले गुटबन्दी गरेमा कारबाही गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकको अन्त्यमा अध्यक्ष प्रचण्डले उपमहासचिव जनार्दन शर्मालाई सार्वजनिक रुपमा बोलेको विषयमा आत्मालोचना गर्न आग्रह गरेका थिए । तर शर्माले त्यसबारे आत्मालोचना नगरेको तर आगामी दिनमा सच्चिएर जाने बताएको प्रवक्ता सापकोटाले बताए । 

शर्माले उपमहासचिवको हैसियतमा पार्टीको माइन्युटमा हस्ताक्षर नगर्नु भने गल्ति भएको उनले स्वीकार गरेको र आगामी दिनमा हस्ताक्षर गर्ने बताएका छन् । 

बैठकले दशैं लगत्तै केन्द्रीय समितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ । बैठकबाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले गटबन्दी अन्त्य गर्ने संकल्प गरेको प्रतिक्रिया दिएका छन् । 

अध्यक्ष प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने चुनौती पछिल्लो समय देखिएको तर स्थायी कमिटी बैठकबाट त्यो चुनौतीलाई पूरा गर्दै पार्टी एकताबद्ध बनाएको बताएका हुन्। 

‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्त्वपूर्ण र नेतृत्व दायी भूमिका खेल्यो। यसलाई एकताबद्ध गर्ने चुनौती हाम्रो अगाडि थियो। त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं र पार्टी एकताबद्ध भएको छ,’ उनले भने।

अध्यक्ष प्रचण्डले पार्टीलाई एकतबद्ध बनाउने विषयमा सामूहिक प्रतिबद्धता व्यक्त भएको पनि बताए। 

‘अब देखि हामी अझ सुदृढ एकताका साथ, सबैखाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं। सामूहिक प्रतिबद्धता गरेका छौं,’ उनले भने। 

बैठकले फेरि एकचोटी जनतामा जाने र देशमा देखापरेका बेथितिको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय भएको  अध्यक्ष प्रचण्डले बताए। 

बैठकले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।

स्थायी समिति बैठक समापनपछि निर्णयबारे जानकारी दिँदै उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिए।

स्थायी समिति बैठकले भदौ १५ गतेदेखि स्थगित अभियान सञ्चालन गर्ने र दसैँ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर