• २०८२ श्रावण २० मंगलबार
  • Tuesday, 5 August, 2025

२८ लाख धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं दुइटा अदालतमा कुल २८ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

उच्च अदालत पाटनमा उनले २५ लाख रूपैयाँ धरौटी बुझाएको अदालतका सूचना अधिकारी पार्वती हितानले बताइन्। उनका अनुसार प्रसाईंले बैंकिङ कसुर सम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा पाउने आदेश भएको छ।

यसअघि सोमबारै अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रसाईंले ३ लाख रूपैयाँ धरौटी बुझाएका जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।

विशेष सरकारी वकिलको कार्यालयले प्रसाईंविरूद्ध बैंकिङ कसुरको मुद्दा उच्च अदालतमा दायर गरेको थियो। उच्च अदालतको वाणिज्य इजलासले २५ लाख रूपैयाँ धरौटी माग गरेको र प्रसाईंले त्यहीँ बुझाएको हितानले जानकारी दिइन्।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको कारोबारमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलाई पत्राचार गरेको थियो।

सिआइबीले विशेष सरकारी वकिलको कार्यालयलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनको अभियोजन गरी सरकारी वकिलले प्रसाईंविरूद्ध १८ करोड ४४ लाख बिगो कायम गरेर जरिवाना र कैद सजाय माग गरेको थियो। त्यस्तै पीडित राहत कोषमा क्षतिपूर्तिसम्म भराउन माग गरेको थियो।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरूमा गलत कारोबार देखाएको (राउन्ड ट्रिपिङ), स्वार्थ बाझिने गरी आपसी पक्षसँगै कारोबार (रिलेटेड पार्टी ट्रान्जाक्सन) लगायतका शंकास्पद कारोबार गरेको आरोप थियो। उच्च अदालतले दुर्गा प्रसाईं अहिले नै निर्दोष हुन् भन्न नसकिने पनि आदेशमा उल्लेख गरेको छ।

'प्रसाईंले अदालतसमक्ष बयान गर्दा कसुरमा इन्कार गरेको देखिएता पनि उनीमाथि राउन्ड ट्रिपिङ र लेयरिङ गरी कर्जा अपचलन गरेको भन्ने दाबी घटना कागज गर्ने व्यक्तिहरूले गरेको कागज, सहप्रतिवादीहरूले अनुसन्धानमा गरेको बयान, छानबिन समितिको प्रतिवेदन बेहोरा समेत मध्यनजर गरी मिसिल संलग्न तत्काल प्रमाणहरूबाट दुर्गा प्रसाईं निर्दोष रहेछन् भनी अहिले नै भन्न सकिने अवस्था नदेखिँदा...,' आदेशमा भनिएको छ।

उनी क्यान्सरका बिरामी समेत भएकाले थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

प्रसाईंमाथि सरकारी वकिलले पनि राज्यविरूद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध कसुर गरेको भन्दै सजायको माग गरेको थियो।

प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो। रिपोर्टिङका क्रममा पत्रकार सुरेश रजकको आगलागीबाट र प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।

प्रसाईंसहित चार जनाले जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गरेका थिए। उच्च अदालतले उक्त आदेश बदर गरी धरौटीमा प्रसाईंलाई छाड्न आदेश गरेको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर