• २०८२ श्रावण २१ बुधबार
  • Wednesday, 6 August, 2025

बागमती कांग्रेसमा फेरि लफडा, एक मात्रै मन्त्रीले सपथ

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठन नहुँदै नेपाली कांग्रेसमा ‘लफडा’ देखिएको छ । इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री नियुक्त भएर शपथ खान नपाई सरकारको नेतृत्व गर्ने दल कांग्रेसमा किचलो सुुरु भएको हो । पार्टीभित्रको किचलोकै कारण सरकारमा सहभागी हुने मन्त्रीको नामबारे कांग्रेसले निर्णय गर्न सकेको छैन ।

मंगलबार दिउँसो ४ बजे मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिने तालिका तय भएपछि नेकपा एमालेले ६ मन्त्रीहरूको नाम टुंगो लगाउँदा कांग्रेसमा एक जना मन्त्रीको मात्र शपथको तयारी भएको बुझिएको छ । धादिङका सांसद शिवराज अधिकारी मात्रै मुख्यमन्त्री बानियाँसँग शपथ खाने सूचीमा तय भएका छन् ।

अधिकारीसँगै रसुवाका प्रभात तामाङ र सिन्धुपाल्चोकका कृष्ण तामाङले पनि शपथ खाने तयारी थियो तर अधिकारीको मात्रै शपथ हुनसक्ने कांग्रेसले स्रोतले बताएको छ । अरु मन्त्रीहरूको पनि शपथ हुनुपर्ने भनिए पनि कांग्रेस अनिर्णित छ । प्रदेश सभापति स्वयम् बानियाँ नै मुख्यमन्त्री भइरहँदा एक मन्त्रीको मात्र शपथ हुने तयारी छ ।

बहादुरसिंह लामाले बनाएका तीन मन्त्रीलाई बानियाँ मन्त्रिमण्डलमा समावेश गर्नुपर्ने सहमति बनेपछि बानियाँ समूहले तयार पारेको मन्त्रीको सूची हेरफर गर्नुपर्ने भएकाले कांग्रेसमा लफडा भएको हो। यो तनाव मत्थर पार्न केहीले बहादुर सिंह लामाले नियुक्त गरेर मन्त्रीको शपथ खान नपाएकामध्ये माया श्रेष्ठलाई शपथ खुवाउन पर्ने माग गरेका थिए भने एउटा मात्र मन्त्रीलाई शपथ खुवाएर काठमाडौँ गएर पार्टी सभापति शेरबहादुर देउवासँग परामर्शपछि मात्रै बाँकी मन्त्री बनाएर विश्वासको मत लिने बानियाँको तयारी छ ।

यसअघि बहादुर सिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पार लगाउन बानियाँ समूहको पटक–पटक बसेको बैठकमा उनलाई सहयोग गर्नेहरुले मन्त्री हुने अपेक्षा गरेका थिए । मुख्यमन्त्री बाहेक ७ मन्त्री पाउने कांग्रेसमा बहादुरसिंह लामाले अल्पमतमा परेर नियुक्ति गरेका तीन मन्त्री पनि समेट्न पार्टी सभापति शेरबहादुर देउवा सहमत भएपछि मन्त्रीका आकांक्षी बढ्दा शुरुमै बानियाँ तनावमा परेका हुन् ।

उनलाई साथ दिने प्रदेश सभा सदस्यहरू शिवराज अधिकारी, बिन्दु रायमाझी पौडेल, यान्किला शेर्पा, सुरेश श्रेष्ठ, कृष्ण तामाङ, मीनकृष्ण महर्जन मन्त्री हुने आकांक्षीका अनुहार हुन् । यस्तै, बहादुर सिंह लामा नेतृत्वको सरकारमा मन्त्री भएर राजीनामा दिएर बानियाँलाई मदत गरेका विमल ठकुरी, मदु कुमार श्रेष्ठ र सुरजचन्द्र लामिछाने पनि मन्त्रीका आकांक्षी भए पनि दोहारिने सम्भावना कम देखिएको छ । रमेश महत, उर्मिला केसी, प्रभात तामाङ पनि मन्त्री हुन इच्छुक छन् ।

यता बहादुरसिंह लामाले आन्तरिक मामिला तथा कानून, सहकारी तथा गरिबी निवारण, र युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त गरेका गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठ पनि समेट्न केन्द्रमै सहमति भएपछि बानियाँको मन्त्रिमण्डलमा जान चाहनेहरुमध्ये केही रोकिने भएका छन् । बानियाँ ११० सदस्यीय प्रदेशसभामा कांग्रेस र नेकपा एमाले गठबन्धनको समर्थनमा ६४ सांसदको बहुमतका आधारमा सरकार प्रमुख बनेका हुन् ।

मकवानपुर घर भएका बानियाँ कांग्रेस बागमती प्रदेश समिति सभापति समेत हुन् । उनी डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामापछि बागमतीको नेतृत्व सम्हाल्ने छैटौं व्यक्ति हुन् । मकवानपुरबाट यो जिम्मेवारी पाउने बानियाँ दोस्रो व्यक्ति हुन् । यसअघि बागमतीका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल पनि मकवानपुरका थिए ।

बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रूपमा आज शपथ ग्रहण गरेसँगै एमालेका तर्फबाट मन्त्री बन्ने व्यक्तिहरूको नाम प्रायः टुङ्गिएको छ । एमालेबाट यसअघिको सरकारमा समेत संलग्न एक जनामन्त्री पुनः दोहोरिने भएका छन् भने अन्य पाँच जना नयाँ अनुहार हुने निश्चित जस्तै छ । दोहोरिने मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका किरण थापा मगर छन् ।

एमालेका सम्भावित मन्त्रीहरूः

किरण थापा मगर – स्वास्थ्य मन्त्री
जयराम थापा – श्रम, रोजगार तथा यातायातमन्त्री
भरतबहादुर केसी – वन तथा वातावरणमन्त्री
मधुसूदन पौडेल – कृषि तथा पशुपक्षी विकासमन्त्री
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार विकासमन्त्री
बिन्दु श्रेष्ठ – उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर