अन्तर्राष्ट्रिय युवा दिवसमा राष्ट्रपति पौडेलले सम्वोधन गर्ने

काठमाडौं । हरेक वर्ष विश्वव्यापी रुपमा अगष्ट १२ तारेखमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसको मुल समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्वोधन गर्ने भएका छन्।
'दिगो विकास र सुनौलो भविश्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आधार ' भन्ने मुल नाराका साथ साताब्यापी कार्यक्रमसहित मनाउन लागिएको दिवस मुल समारोह श्रावण २७ गते १० वजे भृकुटीमण्डप स्थित् राष्ट्रिय सभा गृहमा शुरु हुनेछ।
गत श्रावण ६ गते परिषदको अगुवाईमा आयोजित सवै युवा सरोकारवालाहरुको वृहत् भेलावाट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा २२५ संस्थागत सदस्य सहित अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति र कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको अध्यक्षतामा १७ सदस्यीय सचिवालय गठन भएको थियो।
नेपालको संविधानमा उल्लेखित युवा सम्वन्धि व्यवस्थालाई कार्यान्वयन गर्न , युवा केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति र कानून निर्माणमा पैरवी गर्न र युवालक्षित मुद्दाहरूका सवालमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सचेतना अभिवृद्धि गर्न उत्सवमय ढंगले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको मुल समारोह समितिका सदस्य सचिव गेहनाथ गौतमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
गौतमले दिवसका अवसरमा नेपाल स्थित संयुक्त राष्ट्रसंघीय निकायहरु तथा अन्य संघसंसस्थाहरुको सहकार्यमा साताब्यापी विविध कार्यक्रमहरु आयोजना भइरहेको जनाए।
श्रावण २७ गते हुने मुल समारोह परिषद सहित युवाको क्षेत्रमा क्रियाशील सवै सरोकारवाला , निकाय र संघसस्थाको साझा कार्यक्रम भएकाले सवैलाई उपस्थित भइ उत्सवमय रुपमा मनाउन समेत परिषदले आह्वान् गरेको छ। परिषदले सवै प्रदेश र स्थानीय तहमा पनि युवा दिवस मनाउन अपिल गरेको छ।
सन् १९९८ को अगष्ट ८-१२ मा पोर्चुगलको राजधानी लिसवनमा विश्वका १४० देशका युवा मामिला हेर्ने मन्त्रीहरुको विश्व स्तरीय सम्मेलनले युवाको पक्षमा ८८ वुंदे घोषणापत्र जारी गरेको थियो।
सोही सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारण सभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो । सोही अनुसार सन् २००० देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ ।
प्रतिकृया दिनुहोस