• २०८२ श्रावण २६ सोमबार
  • Monday, 11 August, 2025

जेलमा ‘ग्याङस्टर’ को साम्राज्य, सरकार रमिते ?

काठमाडाैं । कैलाली कारागारमा शुक्रबार राति हिंसात्मक घटना भएपछि ठूला र संवेदनशील कारागारहरूमा स्थानीय प्रशासनले सतर्कता बढाएको छ । विगतमा पटक–पटक हिंसात्मक घटना भएका ती कारागारमा कैलालीको जस्तो अवस्था नआओस् भनेर प्रशासन सतर्क बनेको हो । त्यसमाथि असार–साउनमा अधिकांश कारागारमा चौकीदार हेरफेर हुने भएकाले कैदीबन्दीका विभिन्न समूहबीच शक्तिसंघर्ष चल्ने गरेको छ ।

कैलाली कारागारमा हैकम जमाइरहेको नवीन रावलको समूहलाई प्रशासनले सरुवा गर्न थालेपछि ‘विरासत’ गुम्न लागेको झोकमा एक जनाको मृत्यु र ४८ घाइते हुने गरी हिंसात्मक घटना भएको हो । सुनसरीको झुम्का कारागारमा पनि लगभग यस्तै प्रकृतिको घटना २०७८ चैतमा भएको थियो । १२ कैदीलाई अन्यत्र सरुवा गरिएपछि नयाँ चौकीदार को हुने भन्ने होड चल्दा झडप भई २५ कैदीबन्दी घाइते भएका थिए ।

झुम्कामै १८ चैत २०८० मा कुटपिटबाट एक कैदीको मृत्यु भएको थियो । त्यसअघि २३ कात्तिक २०६९ मा सुरुङ खनेर झुम्का कारागारबाट १२ कैदीबन्दी फरार भएका थिए । यिनै कारणले झुम्का कारागार बढी संवेदनशील पनि छ । त्यहाँ अहिले १ हजार ७ सय ९७ कैदीबन्दी छन् ।

‘अवाञ्छित गतिविधि हुन नदिन कारागारभित्र दैनिक निगरानी गरिरहेका छौं,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र भन्छन्, ‘समय–समयमा स्थलगत निरीक्षण पनि गरिरहेका छौं । फेरि अनुगमनको तयारीमा छौं ।’ कोशीको अर्को ठूलो कारागार मोरङमा कात्तिक २०७८ को बिहान कैदीबन्दीबीच झडप भयो ।

त्यसको कारण पनि चौकीदार किरण गुरुङको गुट र अर्को गुटबीचको मनोमालिन्य थियो । त्यसयता अप्रिय घटना नभए पनि विराटनगरको हाटखोलास्थित जिल्ला कारागार संवेदनशील छ । त्यहाँ विभिन्न मुद्दामा सजाय भोगिरहेका र पुर्पक्षमा रहेका कैदीबन्दीको संख्या १ हजार १ सय ५० छ, जसमा पुरुष १ हजार ४३ र महिला १ सय ७ जना छन् । २ नाबालक पनि त्यहीं छन् । कारागार प्र्रमुख गौरव ढुंगेल भन्छन्, ‘एकदमै सजगता अपनाएका छौं ।’
साउन २०८० मा झापा कारागारका चौकीदार मनोज लावतीलाई झुम्का सरुवा गर्न कारागार व्यवस्था विभागले पत्राचार गरेपछि विरोधमा कैदीबन्दी प्रदर्शनमा उत्रिएका थिए । १९ साउन २०८० मा उनीहरूले नाराबाजी मात्र गरेनन्, ढुंगामुढा, आगजनीमै उत्रिए । उनीहरूले इँटा झिकेर प्रहरीमाथि प्रहार गरेका थिए । नियन्त्रणका लागि प्रहरीले १० राउन्ड हवाई फायर गर्नुपरेको थियो । आन्दोलनपछि चौकीदारको सरुवा थमौती भयो । झापा कारागारमा अहिले १ हजार ५ सय ६६ कैदीबन्दी छन् ।

सिरहा कारागारमा गत ४ साउनमा दिउँसो दुई समूहबीच झडप हुँदा निमित्त चौकीदार विजय महतोसहित १३ जना घाइते भए । उनीहरूलाई सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरेर केन्द्रीय कारागार काठमाडौं पठाइयो । कुनै समय एउटै समूहमा रहेका महतो र आन्तरिक प्रशासनका नाइके इन्द्रजित यादव पछिल्लो समय दुई समूहमा विभाजित थिए ।

यो झडप उनीहरूकै समूहबीच भएको हो । कारागारका एक अधिकारीका अनुसार कर्तव्य ज्यान मुद्दामा जेल परेर कारागारको आन्तरिक प्रशासन चलाउँदै आएका महतो र उनको समूहले कैदीहरूसँग अवैध रूपमा रकम असुलिरहेको थियो । यस विषयमा कैदीहरूले कारागार प्रशासनसमक्ष पटकपटक मौखिक गुनासो पनि गरेका थिए । ‘तर कतैबाट सुनुवाइ हुन नसकेपछि झडपको अवस्था आयो,’ ती अधिकारीले भने ।

महतो र यादवलगायतले कारागारभित्रै मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको दृश्यसहित २४ कात्तिक २०८१ मा कान्तिपुरले समाचार सार्वजनिक गरेको थियो । कारागारमा लागूऔषधसमेत पाइने गरेको खुलेको थियो ।

यससम्बन्धी समाचार आएपछि कारागार व्यवस्थापन विभागको निर्देशनमा जिल्ला सुरक्षा समितिले नेपाल प्रहरीका डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा कारागार, जिल्ला प्रशासनका प्रतिनिधिसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले डेढ महिना लगाएर ४ पुस २०८१ मा जिल्ला सुरक्षा समितिमा प्रतिवेदन बुझाएको थियो । तर समितिले प्रतिवेदन सार्वजनिक नै गरेन ।

सिरहा कारागारमा पाँच/सात दिनकै अन्तरालमा विवाद भइरहने गरेको एक कैदी बताउँछन् । ‘अस्ति अलि ठूलो घटना भएर बाहिर आयो, तर यहाँ विवाद भइरहन्छ,’ उनले भने, ‘कतिखेर के हुने हो, ठेगान हुँदैन, हामी त्रासमा हुन्छौं ।’ जेलर महतो भने कैदीहरू डराएको भए पनि विवाद हुने अवस्था नरहेको दाबी गर्छन् । सिरहाका देवकुमार यादव सरकारी अधिकारीहरूकै मिलेमतोमा कारागारमा अवैध गतिविधि हुने गरेको दाबी गर्छन् । १ सय ५० जना क्षमताको सिरहा कारागारमा अहिले ४ सय ४७ जना कैदीबन्दी छन् ।

बर्दिया जिल्ला कारागारमा यही १६ साउनमा नाइके र कैदीबन्दीबीच झडप भएको थियो, जसमा १० जना घाइते भए । कारागारका प्रमुख मानबहादुर सारूका अनुसार झडपमा संलग्न ६ जनामाथि कानुनी कारबाही अघि बढाइएको छ । पछिल्लो झडपमा संलग्न ६ जनामाथि मुद्दा चलाइएको कारागार प्रमुख सारूले बताए । ‘त्यसमा अघिल्लो महिना मात्र कैलालीबाट स्थानान्तरण भई आएका कर्तव्य ज्यान मुद्दाका ५ थुनुवा छन्,×’ उनी भन्छन्, ‘त्यस ग्याङमा कर्तव्य ज्यान मुद्दाकै अन्य कैदी मिसिएका थिए । अराजकपन देखाउने कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गर्ने गरेका छौं ।’

कारागार प्रमुख सारूका भनाइमा खाना खाने टेबलको विषयमा विवाद हुँदा उक्त झडप भएको थियो । तर त्यहाँ हुने नाइके, सहनाइके र चौकीदार चयनमा कैदीबन्दीले असन्तुष्टि जनाउँदै आएका छन् । कारागार आन्तरिक प्रशासनका प्रमुखले चौकीदारका निकटका व्यक्तिहरूलाई नाइके तथा सहनाइके बनाइने गरेको उनीहरूको गुनासो छ । त्यस्तै जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका नन्द जैसीलाई कारागार प्रशासनले बाहिर पठाएको अर्को आरोप पनि छ ।

पुरुषतर्फ सन्तोष तामाङ र महिलातर्फ सम्झनादेवी पटहर चौकीदार छन् । तामाङ मानव बेचबिखन र पटहर लागूऔषध मुद्दाका कैदी हुन् । यस आर्थिक वर्षमा आन्तरिक प्रशासन व्यवस्थापनका लागि ५२ नाइके र सहनाइके पनि चयन भएको प्रमुख सारूले जनाए । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन जनाको सिफारिस समितिले मापदण्डअनुसार चौकीदार, नाइके, सहनाइकेको नाम विभागमा सिफारिस गरेको र त्यही अनुमोदन भएको उनको भनाइ छ ।

कारागारभित्र लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि तीन वर्षअघि पाकिस्तानी नागरिक नासिर अलीसहित केही कैदीबन्दीलाई काठमाडौं स्थानान्तरण गरिएको थियो । अलीले कारागारबाटै लागूऔषध फर्निचरभित्र राखेर काठमाडौं पठाएको अनुसन्धानमा देखिएको थियो । त्यसबेला त्यहाँ तैनाथ सबै प्रहरीलाई जिल्लामा तानिएको थियो । अली लागूऔषध कोकिनसहित काठमाडौंमा ९ पुस ०६५ मा पक्राउ परेका थिए ।

एक वर्षअघि कारागार प्रहरीले कैदी भेट्न आएका गुलरिया नगरपालिका–२ संगमबस्तीका विजय तिरुवालाई काँचो माछाभित्र लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । ११ वर्षअघि कारागारभित्र जेलर, प्रहरीसहित कैदी जुवातास खेलिरहेको अवस्थामा स्थानीय प्रशासनले छापा हानेको थियो । त्यतिबेला जेलर मुरलीधर पुरीलाई स्पष्टीकरण मात्रै सोधेर छाडिएको थियो ।

साउन २०८० मा संखुवासभा कारागारबाट भाग्न खोजेका कैदीको भोलिपल्ट मृत्यु भएको घटनालाई लिएर ठूलै विवाद भएको थियो । त्यस घटनामा कारागारबाट भाग्न खोजेका दुई जनालाई प्रहरी र कैदीले चरम यातना दिएका कारण मृत्यु भएको अनुसन्धानमा देखिएको थियो ।

१७ साउन २०८१ मा जिल्ला कारागार खोटाङमा नाइके कैदी रोहिणी कार्की तथा कैदी सन्तोष परियार र सुवास विकबीच कुटाकुट भयो । रोहिणीको बायाँ हातमा र सन्तोष र सुवासको टाउकामा चोट लागेको थियो । सन्तोष र सुवासलाई झडप हुनु चार/पाँच महिनाअघि मात्रै झापा र झुम्काबाट खोटाङ सारिएको थियो । घटना पुनः दोहोरिन नदिन जिल्ला कारागार खोटाङमा रहेका चार जनालाई रौतहट र तीन जनालाई पर्सा कारागार सरुवा गरियो ।

कैदीबन्दीको भीड, गम्भीर अपराधमा संलग्न कैदीबन्दीको उपस्थिति र कारागारभित्रको गुटबन्दीले सुरक्षा चुनौतीपूर्ण बन्ने गरेको कारागार प्रशासनको भनाइ छ । सुरक्षाका दृष्टिले बढी संवेदनशील कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाउने गरिएको छ । निर्वाचनका समयमा भने देशभरका कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने गरिएको छ ।

२० मंसिर २०६८ मा कारागारकै कैदीबाट आक्रमणमा परी तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको मृत्यु भएको थियो । फागुन २०६८ मा वीरगन्ज कारागारमा झडप हुँदा ३० घाइते भएका थिए । घाइतेमध्ये धेरैको टाउको र हातमा धारिलो हतियारले प्रहार भएको थियो । वैशाख २०७३ मा भीमफेदी कारागारमा भएको झडपमा एक दर्जन कैदीबन्दी घाइते भएका थिए । मंसिर २०७३ मा महोत्तरीको जलेश्वर कारागारमा दुई समूहबीच दाउरा र फलामको डन्डीले हानाहान हुँदा आठ जना गम्भीर र चार जना सामान्य घाइते भएका थिए ।

कैलालीमा ग्याङ नै ग्याङ

कैलाली कारागारमा नवीन रावल समूह, कोब्रा समूह, जयन्द्र शाह समूहजस्ता गुन्डागर्दी गर्ने समूह सक्रिय छन् । टीकापुरका भूपेन्द्र बडुवाल हत्याकाण्डमा जोडिएका नवीन रावलको समूहले कारागारबाटै बाहिर पनि असुलीलगायत विभिन्न आपराधिक गतिविधि गर्दै आएको छ ।

सो समूहसँगै जोडिएको पछिल्लो घटना टीकापुर नगरपालिका १ का ३१ वर्षीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी र चक्कु प्रहार हो । विष्टमाथि आक्रमणपछि फरार रहेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरीले गत २८ जेठमा घुँडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो । उनीहरू रावल समूहमा छन् ।

रावल समूहलाई टक्कर दिने अर्को ग्याङ जयन्द्र समूह हो । जयन्द्र समूहका कपिल श्रेष्ठले कैलाली कारागारबाटै विभिन्न गतिविधि गर्दै आएको सुरक्षा अधिकारीको भनाइ छ । ‘जयन्द्र समूहका धेरैजसो कारागारबाहिरै छन्,’ उनले भने, ‘नवीन समूहका गतिविधिमाथि बाधा उत्पन्न गरिरहने ग्याङ भएकाले यी दुई समूहबीच दुश्मनी छ ।’

कोब्रा समूहका नामले चिनिने दीपेन्द्र भण्डारी, मुस्कान सिंहलगायत पनि हाल कारागारमै छन् । ३ पुस २०७८ मा कैलालीको जानकी गाउँपालिकाका २५ वर्षीय अर्जुन दासलाई अमरावती सामुदायिक वनमा रूखमा बाँधेर हत्या गरिएको अभियोगमा भण्डारीको समूह पक्राउ परेको हो । कारागारभित्र र बाहिर रहेका त्यस समूहका युवाले योजनाबद्ध रूपमा आपराधिक गतिविधि गरिरहेको ती सुरक्षा अधिकारी बताउँछन् । शुक्रबार रातिको घटनामा मृत्यु भएका भरत चौधरीका परिवारहरूको भनाइले पनि कारागारभित्र पनि आपराधिक गतिविधि हुने गरेको आशंकालाई बल पुर्‍याउँछ ।

भरतले कारागारबाट हरेक साता पैसा माग्ने गरेको परिवारजनले बताए । ‘घरको आर्थिक अवस्था कमजोर छ । त्यही पनि ऋण गरेर कहिले दुई हजार, कहिले पाँच हजार, कहिले सात हजारसम्म जेलमा गएर दिँदै आएका थियौं,’ विजयकी दिदी बिभा चौधरीले भनिन्, ‘पैसा आफैं समात्दैनथ्यो । चौकीदार र नाइकेको हातमा देऊ भन्थ्यो । अहिले आएर त्यत्रो पैसा किन र केका लागि माग्थ्यो भन्ने पनि शंका लागेको छ । एक–दुई पटक त ई–सेवामा पनि पैसा हाल्न लगाएको थियो ।’

कारागार प्रशासनले ३ असारयता रावल समूहका १६ जनालाई दाङ, बर्दिया, दैलेख र बाँके स्थानान्तरण गरेको थियो । त्यसपछि नवीन समूह विभिन्न बहाना बनाएर स्थानान्तरणको विरोधमा उत्रिएको थियो । ‘यस घटनाबाट कारागारमा रहेका अन्य समूहका व्यक्ति पनि रावल समूहमा समाहित भएको अनुमान गर्न सकिन्छ,’ एक प्रहरी अधिकृतले भने, ‘स्थानान्तरणपछि रावल समूह छिन्नभिन्न भएकाले अरू समूह आफ्नो हैकम जमाउने तरखरमा रहेको अनुमान छ ।’

कारागारमा आन्तरिक प्रशासन कैदीबन्दीकै हातमा हुने गरेको प्रशासनले जनाएको छ । कारागारमा रहेका कैदीबन्दीबाट एक चौकीदार, २५ बराबर एक नाइके, १० बराबर एक सहनाइके छान्ने गरिन्छ । ‘असार मसान्तभित्रै यस वर्षका लागि नाइके, सहनाइके र चौकीदार छनोट भइसक्नुपर्ने हो । यहाँ भएको रहेनछ,’ शनिबार खटाइएका जेलर जालन्धर भुसालले भने, ‘धेरै कुरा अनुसन्धानपछि खुल्छ होला । हाल परशुराम राना चौकीदार रहेछन् ।’

कास्कीमा सधैं हानथाप

चालु आर्थिक वर्षका लागि कारागार व्यवस्थापन विभागले ४ साउनमा कारागार कार्यालय कास्कीको ‘क’ ब्लकको चौकीदारमा अजय गुरुङलाई नियुक्ति गर्‍यो । कैदी बन्दीबीच रुचाइएका प्रकाश गुरुङको सट्टा अजयलाई चौकीदार बनाएपछि कारागारमा तनाव सिर्जना भयो । ‘क’ ब्लकका कैदीबन्दी आन्दोलित भए ।

प्रकाशका समर्थकले कारागार बाहिर पनि प्रदर्शन गरे । सहचौकीदार भइसकेका प्रकाशलाई रोलक्रमअनुसार र नेतृत्व क्षमताका आधारमा चौकीदार बनाउनुपर्ने दबाब दिए । कारागार भित्र/बाहिर गरिरहने ‘आउटर’ अजयलाई आर्थिक चलखेलमा चौकीदार बनाइएको उनीहरूको आरोप थियो । अजय र प्रकाश दुबै ज्यान मुद्दामा सजाय खेपिरहेका कैदी हुन् ।

स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी नै परिचालन गर्नुपर्‍यो । त्यही दिन बेलुका दुबैलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुर्‍याइयो । ५ साउनमा प्रकाशसमर्थक कैदीबन्दी अनसन बसे । गृह मन्त्रालयलाई पत्र लेखेर अजयको नियुक्ति खारेजीको माग गरे । तर ६ साउनमा विभागले अजयलाई नै चौकीदारको जिम्मेवारीमा कारागार फर्कायो । प्रकाशलाई तनहुँ कारागार पठायो । उनको पक्षका ५ कैदीबन्दीलाई मकवानपुरको भीमफेदी कारागार पठाइयो । १० जनालाई ‘ख’ ब्लकमा सारियो ।

कास्की कारागारमा पुरुषतर्फ ‘क’, ‘ख’ र महिलातर्फ एक गरी तीन ब्लक छन् । पुरुषतर्फको ब्लकमा चौकीदार बन्न सधैं हानथाप हुन्छ । कारागारभित्रको आन्तरिक प्रशासन चलाउन पाइने, कारागार भित्रै व्यवसाय गरेर मनग्गे आम्दानी गर्न पाइने भएकोले पनि चौकीदार बन्न तछाडमछाड हुने गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिको सिफारिसको आधारमा कारागार व्यवस्थापन विभागले चौकीदार नियुक्ति गर्छ । तर कैदीबन्दीको बीचबाट नछानी आर्थिक चलखेलका आधारमा चौकीदार नियुक्त हुने गरेको स्वयं कैदीबन्दी बताउँछन् । कास्की कारागारको क्षमता ४ सय २० भए पनि हाल ७ सय ६२ कैदी बन्दी छन् । लमजुङ कारागार भत्किएकोले त्यहाँका ७८ कैदी बन्दीलाई कास्की स्थानान्तरण गरिएको थियो । कैदी बन्दीको चाप धेरै हुँदा एउटै कोठामा ५५ जनासम्म सुत्नुपर्छ । हाल आन्तरिक रुपमा केही संरचना थपिएकाले व्यवस्थापन भइरहेको कारागार प्रमुख राजेन्द्र शर्माले बताए ।

चौकीदारको जगजगी

कारागारको चौकीदार पदलाई ‘सुनको हात्ती’ भन्ने गरिन्छ । कारागारभित्र क्यान्टिन, किराना र टेलिफोन सञ्चालनमा छन् । पुल, क्यारमबोर्ड, लुडोजस्ता मनोरञ्जनात्मक खेल राखिएका छन् । विद्युत् महसुल नलाग्ने, कोठा भाडा तिर्नु नपर्ने, सस्तो कामदार पाउने ठाउँमा किरानाका सामान र खाना खर्च बाहिरभन्दा महँगो छ ।

यी कारोबारबाट हुने आम्दानी, कैदी सरुवा–सिफारिसको ठेक्का र नाइके–भाइनाइकेको जालो यी सबैले चौकीदारलाई कैदीभन्दा बढी ‘कारागारभित्रको मालिक’ बनाउँछ । चौकीदार चयनमा राजनीतिक पहुँचसमेत प्रयोग हुने गरेको पाइन्छ । तर त्यही चौकीदारको मनोमानी, चरम यातना र आर्थिक शोषण जस्ता घटनाले हिंसात्सक अवस्था ल्याउने गरेको छ ।

मानवअधिकार सञ्जालको टोलीले मंसिर २०८१ मा झापा कारागारको अध्ययन गरेको थियो । टोलीले आर्थिक चलखेल र चौकीदार, नाइके, भाइनाइकेबीचको ‘इगो’ का कारण पटक–पटक झडप र हिंसात्मक घटना भएको निष्कर्ष निकालेको थियो । ‘कारागारभित्र ठूलो व्यापार हुने रहेछ । निश्चित व्यक्तिले मात्रै आर्थिक लाभ लिने गरेको पाइयो,’ अध्ययन टोलीमा संलग्न मानवअधिकारकर्मी रूपक खनाल भन्छन्, ‘आर्थिक लाभ नलिने समूहलाई रिस उठ्ने नै भयो । अनि झपडलगायतका हिंसात्मक गतिविधि हुने रहेछ ।’

कारागारभित्र मदिरा, लागूपदार्थजन्य वस्तु भित्र्याउन पाइँदैन । तर ती वस्तु महँगो मूल्यमा किन्न पाइने व्यवस्था कारागारभित्र मिलाउने गरिएको हुन्छ । यसका लागि चौकीदार र नाइके/भाइनाइकेको सञ्जालले ‘सेटिङ’ मिलाएको हुन्छ । रासनबाट हुने आम्दानी, कारागारभित्रको व्यापार, कैदी सरुवामा हुने ‘सेटिङ’ मा चौकीदार संलग्न गुटकै नियन्त्रण हुन्छ । ‘सरकारले स्पष्ट नीति बनाएर कारागारभित्रको अवैध धन्दालाई नियन्त्रण नगर्ने हो भने समस्या अझै विकराल वन्न सक्छ,’ मानवअधिकारकर्मी खनाल भन्छन् ।

कैलाली कारागारमा ४२ घण्टापछि गणना

कैलाली कारागारभित्र भएको हिंसात्मक घटनाको करिब ४२ घण्टापछि मात्र सुरक्षाकर्मी राष्ट्रिय मानवअधिकार आयोगको टोलीसहित बन्दीगृहमा प्रवेश गर्न सकेका छन् । शुक्रबार राति भएको घटनापछि कारागारको बाह्य सुरक्षा मजबुत बनाइए पनि बन्दीगृहभित्रको अवस्थाबारे सम्बन्धित निकाय अनभिज्ञ थिए ।

कैलाली कारागार प्रशासकका रूपमा खटिएर आएका जालन्धर भुसालको सहजीकरणमा कैन्दीबन्दीले आइतबार बन्दीगृहभित्र प्रवेश गर्न दिएका हुन् । आइतबार अपराह्न बन्दीगृहमा प्रवेश गरेको सुरक्षाकर्मीसहितको टोलीले कैदीबन्दीको अवस्था सामान्य रहेको जनाएको छ । ‘घटनापछि कैदीबन्दीको गणना नै हुन सकेको थिएन । आज हामीले बन्दीगृहभित्र प्रवेश गरेर गणना गर्‍यौं,’ आयोगका निर्देशक प्रकाशदत्त भट्टले भने । कारागार प्रशासनले हरेक साँझ कैदीबन्दीको गणना गर्नुपर्ने नियम छ ।

निर्देशक भट्टका अनुसार घटना भएको दिन सात सय कैदीबन्दी रहेकामा अहिले पुरुषतर्फको ‘ए’ ब्लकमा ३ सय ९८, ‘बी’ ब्लकमा १ सय ९६ र महिला ब्लकमा ५७ जना छन् । ४६ जना घाइतेको धनगढीमै उपचार भइरहेको छ भने घाइतेद्वय आयुष भट्ट र कर्ण सारुमगरलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । घटनामा कैदीबन्दी भरत चौधरीको मृत्यु भएको थियो ।

धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरतको शव परिवारले उठाउन मानेका छैनन् । मृतकका भाइ विजयले यकिन छानबिन नहुँदासम्म शव नउठाउने बताए । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले छलफलको प्रयास भइरहेको र पीडित परिवारको मागलाई गम्भीरतापूर्वक लिएको बताए ।-कान्तिपुर दैनिकबाट

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर