• २०८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025

रेशम–रञ्जिता घर झगडाले विभाजको संघारमा नाउपा

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रञ्जिता श्रेष्ठ नै अध्यक्ष रहेको निर्णय गरेपछि पार्टी संरक्षक रेशम चौधरी समूह नयाँ रणनीतिमा जुटेको छ । उनीहरु आगामी बाटो तय गर्ने छलफलमा छन् ।  

रेशम समूहले यही साउन १४–१५ गते राष्ट्रिय भेला गर्दै रञ्जिता श्रेष्ठलाई अध्यक्ष मात्रै होइन, पार्टीको साधारण सदस्यबाटसमेत हटाएर लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो ।

साउन १८ गते अध्यक्ष घोषित लालवीरले पार्टीका पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए । यता, रञ्जिताले पनि सोही दिन राष्ट्रिय भेला अवैधानिक रहेको र आफू नै अध्यक्ष रहेको भन्दै आयोगमा ध्यानाकर्षण पत्र दिएकी थिइन् । आयोगले मंगलबार लालवीरलाई अध्यक्षमा वैधता नदिने निर्णय गरेपछि रेशम समूह नयाँ रणनीति बनाउन जुटिरहेको हो ।

यसअघि ०८० पुस २६ गते टीकापुरमा भएको नाउपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट रेशम आफै अध्यक्ष बनेका थिए । तर उनकै श्रीमती रञ्जिताले फौजदारी अभियोका रेशम अध्यक्ष बन्न नसक्ने दाबी गर्दै निर्वाचन आयोगसमक्ष निवेदन दिएपछि आयोगले टीकापुर महाधिवेशनसहित रेशमको अध्यक्षतालाई अवैधानिक भनेको थियो ।

राष्ट्रिय भेला र त्यसको निर्णयलाई आयोगले अवैधानिक भनेपछि नाउपामा उत्पन्न पछिल्लो घटनापछि संरक्षक एवं हर्ताकर्ता मानिएका रेशमले भने अब नाउपामै राजनीति गर्न आफ्नो नैतिकताले नदिने प्रतिक्रिया दिएका छन् ।  

आफू मुद्दा र पहिचानको राजनीतिबाट उठेको बताउँदै उनले राजनीतिबाट टाढा नभाग्ने बताए ।  आफूलाई परिवारवादको आरोप पनि लागेको उनको भनाइ छ । कहिल्यै श्रीमती त कहिलै बुवालाई अध्यक्ष बनाएको भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै उनले त्यसलाई चिरेर अघि बढ्ने बताए । राष्ट्रिय भेलाबाट अध्यक्ष घोषणा गरिएका लालवीर रेशमका बुवा हुन भने रञ्जिता श्रीमती । रेशमको पछिल्लो कदमलाई धेरैले उनको परिवारवादी विचार भनेर पनि आलोचना गरेका थिए । रञ्जिताको विकल्पमा रामलाल डगौरा र संसदीय दलका नेता गंगाराम चौधरीले पनि अध्यक्षको दाबी गरेका थिए । तर रेशमले बुवालाई बनाउने लिएको निर्णय अगाडि उनीहरु झुकेका थिए । यतिबेला रेशम दम्पतीबीचको विग्रह उत्कर्षमा पुगेपछि रेशम समूहले राष्ट्रिय भेला नै आयोजना गरेर रञ्जितालाई हटाउने निर्णय गरेको थियो ।

राष्ट्रिय भेलाका संयोजक रामलाल डगौरा थारुले आयोगको निर्णयपछि कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफल भइरहेको बताए ।  

नाउपामा अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य छन् । तीमध्ये राष्ट्रिय भेलाका बेला १३ जना रेशमका पक्षमा उभिएका थिए । अध्यक्ष रञ्जिता अल्पमतमा थिइन् ।

त्यसअघि पार्टीभित्र किचलो बढ्दै गएका बेला रञ्जिताले शिव बास्तोलालाई कार्यवाहक तोकेकी थिइन् । रेशम–रञ्जिता विवाद उत्कर्षमा रहेकै बेला पछिल्लो समय रञ्जिता पोखराको लिचीघारी जग्गा प्रकरणमा मुछिएकी छिन् । त्यही मौकामा रेशम पक्षधरले केन्द्रीय कमिटीको बैठक बोलाउन गरेको आग्रहलाई रञ्जिताले नटेरेपछि उनीहरुले राष्ट्रिय भेला आयोजना गरेर उनलाई साधारण सदस्यबाटसमेत हटाउने निर्णय गरेका थिए । तर आयोगले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षमा निहीत रहेको भन्दै रेशम पक्षधरको निर्णयलाई मान्यता दिएन ।

निर्वाचन आयोगको निर्णयको जगमा पार्टी विधानलेसमेत अध्यक्ष रञ्जिता अधिकारसम्पन्न छिन् । उनले यसअघि नै संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

किचलोका बीच कार्यवाहक अध्यक्ष तोकिएका वरिष्ठ उपाध्यक्ष शिव बास्तोलाले दुवै पक्षले एकअर्कालाई जोडेर जानुको विकल्प नभएको बताए ।  

रञ्जितालाई अध्यक्ष मानेर अघि बढ्न नसकिने भनिसकेको पृष्ठभूमिमा अब रेशमको समूह बेग्लै पार्टी गठन गरेर अघि बढ्नेबारे छलफलमा छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर