होटलमा पत्नीको हत्या गरेर फरार युवक पर्साबाट पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा पत्नीको हत्या गरेर फरार एक युवक पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भएका करिब ३० वर्षीय सन्तोष सेन्चुरी रहेका प्रहरीले जनाएको छ ।

गोंगबुस्थित नयाँ बसपार्क नजिकैको कञ्चन कोसी होटल एण्ड लजको कोठा नम्बर २०१ मा गएको शुक्रबार राति २७ वर्षीया ललिता विकको शव फेला परेको थियो । सुनसरीको इटहरी घर भएकी भिममाया लिम्बुले सञ्चालन गरेको सो होटलको कोठाको खाटमुनि उनको शव फेला परेपछि प्रहरीले सन्तोषको खोजी गरेको थियो ।

उक्त शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । नुवाकोट ककनी गाउँपालिका–४ माइत भएकी बिकको करिब दुई वर्षअघि काभ्रे भुम्लु गाउँपालिका निवासी सन्तोष सेन्चुरीसँग बिवाह भएको थियो ।

मृतक महिलाका बुवाले दिएको जाहेरीअनुसार गएको साउन २७ गते सन्तोषले ललितालाई उक्त होटलमा बोलाएका थिए । त्यहीँ होटलमा ललिताको हत्या गरी शव बेडमुनि लुकाएर सन्तोष पर्सा भागेको अनुसन्धानको क्रममा खुलेको छ ।

घटना लुकाउन सन्तोषले साउन २८ गते प्रहरी वृत्त महाराजगञ्जमा पत्नी हराएको भन्दै हुलियासहित निवेदन दिएका थिए । तर, साउन ३० गते राति गेस्ट हाउसमा पत्नीको शव प्रहरीले भेटेको सूचना पाएपछि भने उनी भागेका खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर