पुराना दलले कार्यशैली बदले निराशा घटेर जान्छः पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले पुराना दलले कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला समितिले आइतबार राजधानीमा गरेको ‘मिनी संसद’ कार्यक्रममा पुनले जनतामा निराशा बढ्नुमा पुराना दलका कार्यशैली जिम्मेवार रहेको बताए ।
पुराना दलले कमजोरी स्वीकारेर सच्चिन तयार भए जनतामा बढ्दै गएको निराशा र असन्तोषमा कमी आउने उनको भनाइ थियो । उनले पुराना दलमध्ये कमजोरी स्वीकार गर्न र सच्याउन तत्पर हुनेमा आफ्नो दल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि रहेको दाबीसमेत गरे ।
पुराना दलका कमजोरी र कार्यशैलीमाथि प्रश्न उठाएर लोकप्रियतावादी शक्तिको उदय हुन खोजेको पुनले उल्लेख गरे । तर, प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीमा कमजोरी स्वीकार नगर्ने र सच्चिन तयार नहुने रहेको टिप्पणी उनले गरे । ‘माओवादी केन्द्र र त्यसको मूल नेतृत्वले आफ्नो कमजोरी स्वीकार गर्छ र फेरिन तयार छ । तर, केपी ओलीजीजस्ता व्यक्तिहरु कहिल्यै गल्ती स्वीकार्नै तयार हुनुहुन्न । गल्ती नगर्ने पार्टी र नेता नै हुँदैन । गल्ती हुन सक्छ । तर, गल्ती स्वीकार गरेर सच्याउन तयार हुनुपर्छ’, पुनले भने ।
राज्यले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ भन्ने नीति लिँदा आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढालेर काँग्रेस–एमाले एकै ठाउँमा उभिएको पुनले बताए । ‘हामीले राष्ट्रिय पुँजीको विकास गर्नुपर्छ भन्ने कुरामा जोड दियौं । काँग्रेस–एमालेसँग हाम्रो बाटो फरक भयो’, पुनले भने, ‘अहिले राज्य नै नोकरशाही पुँजीपति वर्गको स्वार्थमा चलेको छ ।’
फरक प्रसंगमा उनले सरकार हाबी हुने प्रवृत्तिका कारण संसद्मा उठ्ने जनताका आवाज कमजोर भएको बताए ।
संसद् सत्तापक्षको संख्याको छायाँमा परेको भन्दै प्रतिपक्षले उठाएका जनताका आवाजलाई सत्तापक्षले पेलेर जाने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नुपर्नेमा उनको जोड थियो । ‘सत्तापक्ष बहमुतमा हुने भएका कारण सरकारका प्रस्तावहरु सजिलै संसदबाट पारित हुन्छ’, पुनले भने, ‘प्रतिपक्षमार्फत उठ्ने गरेका जनताका आवाजलाई नसुने पनि फरक नपर्नेजस्तो अवस्था छ । यसलाई बदल्नुपर्छ ।’
पुनले संसदमा कतिपय सांसदको भूमिकालाई लिएर समेत प्रश्न गरे । केही सांसदले संसदको पुरै कार्यकाल एक शब्द पनि नबोली बिताउने गरेको उनको भनाइ थियो ।
‘पुरै कार्यकालभर एक शब्द नबोल्ने, कानून निर्माणको प्रक्रियामा संलग्न नहुने, विधेयकमाथिको सैद्धान्तिक र दफाबार छलफलमा सहभागी नहुने र संशोधन प्रस्ताव नहाली सांसदबाट बिदा हुने सांसदहरु पनि छन्’, पुनले भने । पुनले संसदलाई औपचारिकताबाट माथि उठाएर जनताको भावना, आकांक्षा र मुलुकको आवश्यकता व्यक्त गर्ने थलोका रुपमा विकास गर्न आफ्नो दलका तर्फबाट प्रयास हुने उलेख गरे । ‘औपचारिक संसद् होइन । जनताको भावना र आकांक्षा व्यक्त गर्ने खालको हुनुपर्छ’, संख्यामा कम छ भन्दैमा प्रतिपक्षबाट उठेका जायज र आवश्यक विषयहरुको सम्बोधन गर्ने गरी विद्यमान कानूनी व्यवस्थामा परिमार्जन गर्नुपर्ने भएको छ ।’
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नमुना संसद् अभ्यासले युवा पुस्ताका आशा, सपना र सम्भावनाको उजागर गर्ने बताए । उनले भने, 'सवल, प्रतिस्पर्धी र कर्मठ युवाले मात्र नयाँ युगको नेतृत्व गर्न सक्दछन् ।' उनले युवालाई केन्द्रविन्दुमा राखेर अबका नीति, योजना र कार्यक्रम तय हुनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस