• २०८२ भदौ २ सोमबार
  • Monday, 18 August, 2025

शेखरमाथि शंकरको प्रहारः सत्तामा पनि बस्ने, विरोध पनि गर्ने ?

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई आफ्नै अनुहारमा छिटा पर्ने खालका अभिव्यक्ति नदिन भनेका छन्।

साउन ३१ गते नेता कोइरालाले भूमिसम्बन्धी विधेयकलाई लक्ष्य गर्दै 'जहाँ खाली जग्गा छ, त्यहाँ एमाले' भन्ने अभिव्यक्ति दिएका थिए।

कोइरालाको उक्त अभिव्यक्तिलाई लिएर कञ्चनपुरमा आज सत्तारूढ एमालेका महासचिव पोखरेलले टिप्पणी गरेका हुन्।

‘म शेखरजीलाई के भन्छु भन्दा आफ्नै अनुहारमा छिटा पर्ने खालको अभव्यक्ति दिनु हुँदैन,’ पोखरेलले भने, ‘सरकारमा सामेल हुने, सरकारप्रति चाहिँ प्रतिपक्षी व्यवहार गर्ने कुरा, अझ शेखरजीको कुरा सुन्दाखेरि कस्तो लाग्छ भने सरकारमा संस्थापन पक्षसँग हिस्साका लागि पनि विवाद गर्ने, हिस्सा प्राप्त गर्ने अनि सरकारका पक्षमा एक शब्द पनि नबोल्ने कुरा त नैतिक हिसाबले पनि राम्रो कुरा होइन। यस्ता कुरा उहाँले सुधार गर्नुपर्छ।’

खाली जग्गा कहाँ, कसले प्रयोग गरेको छ भन्ने त अभिलेखमा थाहा हुने उनले बताए।

‘जग्गा जमीनका कुरा गर्दाखेरि कहाँ, कसले, कसरी प्रयोग गरिराखेको छ भन्ने त अभिलेखमा देखिन्छ, खाली जग्गा जमीनमा नेपाली कांग्रेसका नेताहरूका नाममा प्रतिष्ठान बनाएको पनि होला, उहाँले पनि कतिपय ठाउँमा त्यसको नेतृत्व गर्नुभएको होला,’ उनले भने, ‘आफ्ना सन्दर्भका बारेमा चाहिँ नहेर्ने, अरूमाथि टिकाटिप्पणी गर्ने उचित भएन।’

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन दिन खोजिएको उनले बताए। संविधानमा पनि जमिन मौलिक हक भन्ने लेखेकोले उनीहरूलाई जमिन दिन लागेको उनको भनाइ छ। 

भूमिको विषय कानुनसम्मत बनाउनुपर्छ भन्दा शेखर कोइरालाले विरोध गरेको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर