काँग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग रोक्नुपर्छः पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ दुई ठूला दल काँग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरुप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन् ।
काँग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेश्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरेका हुन् । गल्ती गर्ने जो कोही कानून र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । ‘दुई ठूला पार्टीहरु सरकारमा हुनुहुन्छ । तपाईंहरुसँग बढी जिम्मेवारी छ । दुई पार्टी मिलेर साना दलहरुलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षीविरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताए । आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरे । ‘विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि मैले राज्यसत्ताको दुरुपयोग गरी कसैमाथि प्रतिशोध साँध्न मिल्दैन भनेको थिएँ, उनले भने, ‘सत्तापक्ष, पतिपक्षी वा आफैंभित्रको अर्को पक्षविरुद्ध राज्य प्रयोग गरिनुहुँदैन । यो म हिजो पनि भन्थें, आज पनि भन्छु ।’
पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन काँग्रेस र एमालेलाई आग्रह गरे । माओवादी केन्द्र आफ्ना गल्तीहरुप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाए । ‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ । आफूले अवसर पाएका बेलामा ध्यान नपुगेका कुरा स्वीकार गर्न हामीलाई कुनै हिच्किचाहट छैन ।’
ठूला पार्टीमाथि जनताको प्रश्न रहेको चर्चा गर्दै उनले गठन भएको ६ महिनामा रास्वपालाई संसदको चौथो शक्ति बनाएर जनताले पुराना दलप्रति प्रश्न गरेको बताए ।
लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र र नेताहरुको विकल्प झन् राम्रो नेता भए पनि पपुलिज्मको जगबाट उदाउने अतिजातीवादी र अन्धराष्ट्रवादीहरु विकल्प हुन नसक्ने उनको भनाइ थियो । ‘हाम्रो पार्टीको कोणबाट हेर्दा लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र हो, पार्टी सिस्टमको विकल्प झन राम्रो पार्टी सिस्टम र नेताहरुको विकल्प झन राम्रो नेताहरु हो’, पुनले भने, ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन । तर, हाम्रा विचार राजनीतिक, कामकारबाही र कार्यशैलीमा धेरै नै शुद्धीकरण जरुरी छ ।’ पुराना पार्टी र नेताहरुले आफूलाई परिस्कार गरेर विचार, जानीति, र निष्ठाका साथ अघि नबढे मुलुकमा अहिलेको भन्दा थप निराशा छाउने पुनले उल्लेख गरे ।
०९८, ००७, ०३६, ०४६, ०५२ र ०६३÷०६३ को संघर्षको इतिहाससँग जोडिएका दलहरुले विगतको ब्याजले मात्र अबको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो । ‘हिजो बलिदानको ब्याजले मात्र आजको राजनीति धान्न सकिँदैन । मान्छेले विश्वास गर्दैन’, पुनले भने, ‘पुराना पुस्ताका नेताहरुप्रति हाम्रो पुराका पुरा सम्मान छ । पुराना नेताले विचार, राजनीतिक निष्ठा र संस्कार देखाउन जरुरी छ । पार्टीहरु र नेताहरु लोकतान्त्रिक संस्कारमा छन् भन्ने विश्वास दिलाउन नसकेको अवस्था छ । त्यो कुरामा आत्मालोचना गर्नैपर्छ ।’
प्रतिकृया दिनुहोस