• २०८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025

नेपालमा फेरियाे युवाकाे परिभाषा, उमेर १८-३५ कायम

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् वैठकवाट हालै स्विकृत राष्ट्रिय युवा नीति - २०८२ अनुसार अव युवाको उमेर १८-३५ कायम हुने भएको छ। यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो।

युवा नीतिले ' युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा युवाको सार्थक सहभागिता र भूमिका बढाउने' विषयलाई मुल ध्यय(मिसन) वनाइएको छ। यसैगरी युवाको सर्वाङ्गीण विकास गर्नु,  राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु र  राष्ट्रभाव भएको सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्नुलाई मुख्य लक्ष्य किटान गरेको छ।

परिमार्जित राष्ट्रिय युवा नीतिमा भनिएको छ -' राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकुल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसंख्यालाई युवा मानिनेछ। ' यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति -२०७२ अनुसार युवाको उमेर १६-४० रहेको थियो।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाका नयां माग, चाहाना र आवश्यकतालाई सम्वोधन गर्न नयां नीति ल्याइएको वताए। वस्नेतले भने-' राष्ट्रिय रुपमा वालवालिका ऐनले १८ वर्षसम्मकालाई वालवालिका मानेको र अन्तर्राष्ट्रिय परिवेशलाई समेत्  मध्यनजर गरेर युवाको नयां परिभाषा गरिएको हो।' 

नयां नीतिले ' स्वस्थ, शिक्षित, सकारात्मक सोचयुक्त, नैतिकवान्, उद्यमशील, सिर्जनशील, कर्तव्य तथा दायित्वप्रति निष्ठावान् र अधिकारप्रति सचेत युवा शक्तिको विकास, संरक्षण र परिचालन गर्न' जोड दिएको छ। यसैगरी युवा नीतिमा भनिएको छ-' अनुसन्धान, अन्वेषण र प्रविधिमा युवाको समावेशी सहभागिता, सहज पहुँच, उच्चतम उपयोग र साइबर सुरक्षा सुनिश्चित गरी प्रविधिमैत्री राष्ट्र निर्माण गरिनेछ ।'

' राष्ट्रको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा दीगो विकासमा युवा परिचालनको सुनिश्चितता गर्न एवम् राष्ट्रियताको भावना जागृत गराउँदै समाज रूपान्तरण र राष्ट्र निर्माणमा युवाहरूको नेतृत्वदायी भूमिका बढाउन' युवा नीतिमा  जोड दिइएको छ ।

युवालाई आत्मनिर्भर र स्वरोजगार वनाउन नयां युवा नीतिमा स्टार्टअप, व्यवसाय सम्बर्धन केन्द्र , एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सेलिङ जस्ता कार्यक्रममा जोड दिइएको छ। यस्तै युवामा रहेको ज्ञान, सीप र पुँजीलाई उपयोग गर्ने प्रोत्साहनमूलक कार्यक्रम, प्राविधिक ज्ञान एवम् सीपमूलक तालिम, विभिन्न व्यवसाय तथा व्यापारका क्षेत्रमा उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। 

यसैगरी युवा नीतिमा विभिन क्षेत्रमा रोजगारी र स्वरोजगारीका कार्यक्रम, परम्परागत सिपको आधुनिकिकरण, परिमार्जन , हस्तान्तरण, हरित कृषि रोजगार कार्यक्रम र सीपमूलक एवम् व्यावसायिक तालिम, अवसर तथा पुरस्कार सहितका उद्यमशीलता प्रतियोगिता सञ्चालन गर्ने उल्लेख छ। यस्तै ' व्यावसायिक सुरक्षाको प्रत्याभूति, व्यवसायिक बीमा, सहुलियतपूर्ण कर्जा र करछूट तथा उत्पादनको बजारीकरण मार्फत् राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माणमा सहयोग पुग्ने ' जनाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर