• २०८२ भदौ १३ शुक्रबार
  • Friday, 29 August, 2025

सचिवालयले भन्योः ओलीको बोली बङ्ग्याइयाे 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गरेको भनाइलाई हवाला दिएर प्रकाशित समाचारप्रति प्रधानमन्त्री केपी ओलीको सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति निकाल्दै कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाएको हो ।

सचिवालयले भनेको छ, ‘भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो । काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ ।’

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरू नेताले नगरेको तर उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुभएको थियो ।’

पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवतरुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गरेकोप्रति ओलीले असन्तुष्टि जनाएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरूलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरूले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर