• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

जनसम्पर्क विस्तारमा जुट्न नेताहरूलाई अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।

अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे ।

उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए।

अध्यक्षले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए ।

उनले निर्देशन दिँदै भने, “अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।”

त्यसैगरी, उनले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए। उनले भने, “हामीले सरकारमा हुँदा गरेका काम र अहिले सडकबाट उठाएका आवाजकै कारण जनभावना सकारात्मक बनेको छ। अब त्यसलाई सशक्त संगठनमार्फत संस्थागत गर्नु जरुरी छ।”

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले भने, “हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।”

“हामी निर्वाचनमा जान्छौं, आन्दोलनमा उत्रन्छौं भन्ने कुरा तब मात्र सार्थक हुन्छ, जब संगठन बलियो हुन्छ। त्यसैले सबै कमरेडहरू आत्मसमिक्षा गर्दै जनतामाझ पुग्नुहोस्, सदस्यता विस्तार गर्नुहोस्, जनसंगठनहरूलाई सक्रिय पार्नुहोस्,” उनले भने ।

बैठकमा उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गरेका थिए। उनले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर